युलेन्स एजुकेशन फाउन्डेशनको आम्दानी साढे ७५ करोड, ६५ करोड ऋण लिँदै


विगत दुई दशकदेखि नेपालमा युलेन्स स्कूल सञ्चालन गरिरहेको युलेन्स एजुकेशन फाउन्डेशनले आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा फाउन्डेशनको सञ्चालन आम्दानीमा झिनो सुधार देखिएको हो ।

आव २०७९/८० मा फाउन्डेशनले ७५ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । दुई वर्षको कारोबार तुलना गर्दा फाउन्डेशनको कारोबार आव २०८०/८१ मा २० लाखले बढेको हो । सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै फाउन्डेशनको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज र करसहितको नाफा समेत बढेको छ ।

अघिल्लो आवमा कुल सञ्चालन आम्दानीको २७.८६ प्रतिशत उक्त नाफा गरेको फाउन्डेशनको नाफा आव २०८०/८१ मा बढेर ३०.५४ विन्दु पुगेको छ ।

सन् २००६ मा गैरनाफा मूलक संस्थाका रुपमा स्थापना भएको फाउन्डेनले नेपालमा वल्र्ड क्लास शिक्षा प्रदान गर्ने उद्देश्यले युलेन्स स्कूल सञ्चालन गर्दै आएको छ । युलेन्स स्कूलले राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धन प्राप्त गरी कक्षा १२ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ भने स्वीजरल्यान्डको इन्टरनेशनल ब्याक्लुरेट संस्थानबाट मान्यता प्राप्त डिप्लोमा कोर्स समेत सञ्चालन गर्दै आएको छ ।

करिब १२ सय विद्यार्थी सङ्ख्या भएको युलेन्स स्कूलमा १५० फ्याकल्टी सदस्य र ३०० स्टाफ रहेका छन् । कुल ४० हजार वर्ग भूमिमा निर्माण भएको स्कूलमा अध्याधुनिक सुविधायुक्त अडिटोरिम हल, कक्षा कोठा, लाइब्रेरी, ल्याब र क्याफेटेरिया रहेको छ ।

फाउन्डेशनले स्कूल विस्तारको क्रम बढाउँदै गएको छ । यसै क्रममा ६५ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि फाउन्डेशनले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले ६० करोड बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र ५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

फाउन्डेशनको आम्दानीमा देखिएको सुधारसँगै कर्जाको ब्याज भुक्तानी गर्ने क्षमतामा समेत सकरात्मक सुधार देखिएको छ । अघिल्लो आवमा फाउन्डेशनले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ३.३० गुणा थियो भने आव २०८०/८१ मा सो क्षमता बढेर ३.९७ प्रतिशत पुगेको हो ।

हाल युलेन्स स्कूलको अकुपेन्सी रेट पनि धेरै रहेको र फाउन्डेशनको सञ्चालक समिति बलियो रहेका छ । फाउन्डेशनका अध्यक्ष सोमप्रसाद पनेरु रहेका छन् ।