वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको २ करोड ६३ लाख ३४ हजार ७९० किलो धान आयात भएको छ ।
गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँकाे ३ करोड ७९ लाख ५१ हजार ५६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३०.६१ प्रतिशतले घटेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।
चालु आवको भदौ मसान्तसम्ममा २२ करोड १७ लाख २८ हजार रुपैयाँको १६ लाख ८८ हजार ९०० किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा २६ करोड ५ लाख २७ हजारको २२ लाख ३ हजार ९०० किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३.३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।
चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजार रुपैयाँको १ करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजार रुपैयाँको १ करोड ८६ लाख ९१ हजार ७१४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९.५५ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया