काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणीकरण नवीकरण गरेको छ।
कम्पनीका अनुसार प्रमाणीकरणले ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग गर्छ।
कम्पनीले सूचना सुरक्षा जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियामा निरन्तर सुधार गर्ने जनाएको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानकको प्रमाणीकरण नवीकरण गरेको छ। कम्पनीका अनुसार यसले बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
उक्त अन्तर्राष्ट्रिय मानकले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्न, आवश्यक सुरक्षा उपाय लागू गर्न तथा ती उपायको प्रभावकारिता नियमित समीक्षा र सुधार गर्न व्यवस्थित आधार प्रदान गर्छ।
यस मानकले विशेषगरी सूचनाको गोपनीयता, अखण्डता र उपलब्धतालाई प्राथमिकता दिन्छ। गोपनीयताअन्तर्गत ग्राहकको व्यक्तिगत, वित्तीय तथा स्वास्थ्यसम्बन्धी संवेदनशील सूचनामा अधिकारप्राप्त व्यक्तिको मात्र पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिन्छ। अखण्डताले सूचना सही, पूर्ण र विश्वसनीय राख्दै अनधिकृत परिवर्तनबाट सुरक्षित गर्ने तथा उपलब्धताले आवश्यक समयमा अधिकारप्राप्त प्रयोगकर्तालाई सूचना र सम्बन्धित प्रणाली उपलब्ध गराउने विषय समेट्छ।
जीवन बीमा सेवामा ग्राहकको व्यक्तिगत विवरण, बीमालेख, भुक्तानी तथा दाबीसम्बन्धी अभिलेखको सुरक्षित व्यवस्थापन महत्त्वपूर्ण हुने कम्पनीले जनाएको छ। डिजिटल सेवाको विस्तारसँगै यस्ता सूचनाको सुरक्षा ग्राहकको विश्वास र सेवाको विश्वसनीयतासँग प्रत्यक्ष जोडिएको कम्पनीको भनाइ छ।
सन नेपाल लाइफले आगामी दिनमा पनि सूचना सुरक्षा जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित, विश्वसनीय र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।







