एभरेष्ट इन्स्योरेन्सको नाफा ५ गुणा बढ्यो, लकडाउनमै कमायो एक तिहाई

0
Shares

एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लकडाउनको पछिल्लो तीन महिनाको अवधिमै इन्स्योरेन्सको खुद नाफा ६ करोडले सुधार गरेको हो ।

गत चैतसम्म कम्पनीको नाफा १३ करोड ३३ लाख थियो । अघिल्लो आवको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै पाँच गुणा तथा पछिल्लो त्रैमासमा मात्र एक तिहाई हो । 

व्यवसायमा आएको बढोत्तरी, पुनर्बीमा कमिशनबाट हुने आयका साथै अन्य सूचकहरुमा गरेको सुधारले इन्स्योरेन्सको खुद नाफामा फराकिलो सुधार देखिएको हो ।

इन्स्योरेन्सले असार मसान्तसम्ममा ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्ले यस्तो शीर्षकमा ३८ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

इन्स्योन्सले पुनर्बीमा कमिसनबाट ११ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसै गरी लगानी, कर्जा तथा अन्य आम्दानी शीर्षकलाई समीक्षा अवधिमा ७ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आवमा ११ करोड ८५ लाख बराबरको दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षमा कम्पनीले दाबी वापत १६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । पुनर्बीमा कमिसन खर्चमा कटौती गरेको इन्स्यारेन्सको व्यवस्थापन खर्च भने बढेको छ ।

७९ हजार ५०२ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सले १२० वटा बीमालेख नवीकरण गराएको छ । इन्स्योरेन्सले ४ हजार बढी दाबी वापत ९९ करोड ४५ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ ।

चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ पुर्याएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा तथा मूल्य आम्दानी अनुपात २३ गुणाले बढी छ ।

कम्पनीको जगेडा कोषमा २७ करोड ४५ लाख रुपैयाँ सञ्चित गरेको इन्स्योरेन्सको बीमा कोषमा ३२ करोड ६० लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ रहेको इन्स्योरेन्सको प्रतिशेयर कुल सम्पत्तीको मूल्य २१६ रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।