डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार


सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जना पक्राउ परेसँगै अब चार जना फरार रहेका छन् ।

बुधबार बिहान ३ बजे त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेका छन् । उनीहरूलाई पक्राउ गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

यसअघि मंगलबार रुकुम पश्चिमबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना पक्राउ परेका थिए ।

कारागारबाट फरार भएकामध्ये अब डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी फरार रहेका छन् ।

गत कात्तिक १४ गते राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए । उनीहरूको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।