सरकारी संयन्त्रमा भ्रटाचार : लाखौं नगदसहित खानेपानी संस्थानका हाकिम संस्थानकै गाडीमा रंगेहात


सरकारी कार्यालयमा हुने गरेको अनियमितता जन-जनको जिब्रोमा झुन्डिने गरेको छ । कतिपय यस्ता घटना विभिन्न माध्यमबाट खुलासा पनि भईरहेका छन् । यसैबीच खानेपानी संस्थान बुटवलका हाकिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ट्रेसिङमा परेका छन् ।

बुटवलबाट घुस रकम उठाएर साथमा नगद बोकेर काठमाण्डौं आउँदै गरेका कार्यालय प्रमुख सन्तोष शाहलाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको छ । अख्तियारले दिएको जानकारी अनुसार शाहलाई काठमाण्डौं आउँदै गर्दा धादिङको धुनीबेसीस्थित खानीखोलाबाट स्रोत नखुलेको १० लाख ५५ हजार सहित नियन्त्रणमा लिइएको छ । संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाण्डौं आउँदै गर्दा शाहलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारका अनुसार नगद २ लाख ३३ हजार र बैंकमा जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचरसहित शाहलाई नियन्त्रणमा लिइएको हो । खानेपानी संस्थानका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरुसँग घुस असुली गरेको सूचनाका आधारमा आयोगको प्रदेश कार्यालयको टोलीले पछ्याएर शाहलाई प्रमाण सहित रंगेहात नियन्त्रणमा लिएको हो ।
शाहले गरेको अनियमितताका सम्बन्धमा अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।