पुतलीसडकमा इन्टरनेट सेवा अवरुद्ध भएपछि एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ नतिजा प्रशोधन हुन सकेन


पुतलीसडक क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्न थालेको लामो समय बितेको छ । यसै शिलसिलामा प्राधिकरणले सो क्षेत्रमा साविकका बिजुलीका खम्बाहरु सार्ने, तार भूमिगत गर्ने लगायतका काम गर्दा इन्टरनेट सेवाप्रदायकहरुले भद्रगोल अवस्थामा टाँगेका सबै तार काटिएका छन् ।

इन्टरनेट सेवाप्रदायकहरुको तार काटिएका कारण पछिल्ला दिनहरुमा पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा कतिबेला चल्छ र कतिबेला बन्द हुन्छ भन्न सक्ने अवस्था छैन । यो समस्या सानिमा क्यापिटल, सीडीएससी लगायतका संस्थाले दिनहुँ भोगिरहेका छन् ।

मंगलबार बाँडफाँड भएको एनआरएन इन्फ्रास्ट्रक्चर शेयरधनीको अन्तिम विबरण प्रशोधन पनि इन्टरनेट सेवा अबरुद्ध भएका कारण हुन सकेको छैन । मंगलबार बिहान नै शेयर बाँडफाँड गरिएको भए पनि शेयर मार्केट्स भवनमा इन्टरनेट सेवा अबरुद्ध भएपछि तथ्यांक प्रशोधनमा समस्या देखिएको हो ।

क्यापिटलका अनुसार क्लाउडमा तथ्यांक प्रशोधन गर्न पर्याप्त इन्टरनेट नभएकाले अन्तिम नतिजा प्रशोधन हुन नसकेको हो । ‘फाइबरबाट आएको इन्टरनेट पूर्णरुपमा बन्द छ, सीडीएससीले चलाई रहेको वैकल्पिक इन्टरनेटको सहायताबाट शेयरधनीहरुको अन्तिम विबरण तयार गर्न प्रयास गरिरहेका छौं । तर इन्टरनेट सुस्त भएकाले डाटा अपलोड तथा डाउनलोड प्रभावकारी नभएकाले काम गर्न सकिएको छैन ।’ क्यापिटलका एक अधिकारीले नोटबजारलाई बताए । क्यापिटलका अनुसार साँझसम्ममा नतिजा तयार पारेर सार्वजनिक गर्ने प्रयास भईरहेको छ ।

सीडीएससीमा पनि इन्टरनेट सेवा अवरुद्ध भएकाले उस्तै किसिमको समस्या उत्पन्न भएको छ । सीडीएससी प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका बिचमा समन्वय नहुँदा इन्टरनेट सेवाबाट बञ्चित हुनु परेको हो । नोटबजारसँग कुरा गर्दै न्यौपानेले भने, ‘हामीले धेरै दिनदेखि इन्टरनेटको समस्या झेल्दै आएका छौं । आजकै कुरा गर्ने हो भने सानिमा क्यापिटलका साथीहरु नतिजा प्रशोधनका लागि आवश्यक पर्ने गतिको इन्टरनेट नपाएर हामीकहाँ आउनु भएको छ । तर पनि समस्या समाधान हुन सकिरहेको छैन । यो अवस्थामा सीडीएससीको प्रणालीमा कतै केही असहज अवस्था आयो भने पनि मर्मतमा धेरै समस्या खेप्नुपर्ने अवस्था छ ।’

इन्टरनेट सेवाप्रदायकहरु पनि मुख्य बजारमा देखिएको समस्या समाधानमा उदासिन भएर बसेका छन् । जसका कारण सेवाग्राहीहरुले सास्ती खेप्दै आएका छन् । आफ्नो पूर्वाधार बनाउन नसक्ने अनि अर्काको पूर्वाधारमा आफ्ना तार टाँगेर सेवा प्रवाह मात्र गर्दै मोटो रकम आम्दानी गर्दै आएका इन्टरनेट सेवाप्रदायकले समस्या समाधानमा ध्यान नदिँदा पुतलीसडक क्षेत्रका मात्र नभई धेरै ठाउँमा सेवाग्राही समस्यामा परिरहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।