सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?


दसैँपछि सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार ६०० रुपैयाँले बढेर एक लाख ६५ हजार ६०० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

सुनको मूल्यले भदौ २९ गतेदेखि लगातार रेकर्ड कायम गरेको हो । असोज २९ गते प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ ३० गते प्रतितोला १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै कात्तिक १ गते बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ६२ हजार ४०० रुपैयाँ पुगेको सुन शुक्रबार २ हजार रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार ४०० रुपैयाँ पुगेको थियो ।

कात्तिक ४ गते आइतबार ६०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको सुनको मूल्य सोमबार पुनः ६०० रुपैयाँले बढेर नयाँ रेकर्डमा पुगेको हो । यसरी आज छापावाल सुन तोलाको एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमबार चाँदी २ हजार ९५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्याएको बिश्लेषकहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै भाउमा पनि वृद्धि भएको हो । लगानीकर्ताहरु सुनमा बढी आकर्षित हुँदा भाउ वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७२६.१६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३३.८५ डलरमा कारोबार भइरहेको छ ।