राजनीतिसँगै अस्थिर नेप्से

रवि पक्राउकाे बाछिटा सेयर बजारमा, २ दिनमै १०५ अंकले घट्यो नेप्से


काठमाडौँ ।

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेदेखि सेयर बजार सूचक उच्च अंकले ओरालो लागेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले लामिछानेलाई शुक्रबार गिरफ्तार गरेपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको हो ।

सरकारले लामिछानेलाई सहकारीको बचत अपचलनको आरोपमा पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन बचाइराख्न रविलाई पक्राउ गरेको भन्दै विरोध पनि भइरहेको छ ।

राजनीतिक वृत्तमा देखिएको अस्थिरता, अविश्वास र सरकार नै परिवर्तन हुन सक्ने अवस्थासमेत बन्न सक्ने भएपछि त्यसलाई धितोपत्र बजारले अस्वीकार गरेको हो ।

लामिछानेको पक्राउपछि धितोपत्र बजार २ दिन खुलेको छ । दुवै दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घट्यो ।

आइतबार ४७ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि ५८ अंकले घटेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि करिब २ अर्बले घटेको नेप्सेले जनाएको छ ।

लामिछाने पक्राउ परेसँगै राजनीतिक गठबन्धन तथा सरकारसमेत परिवर्तन हुन सक्ने अनुमानका साथ सेयर लगानीकर्ताले मनोबल कमजोर बनाएका छन् ।

अहिलेको सरकार परिवर्तन भएको खण्डमा नयाँ आउने सरकारले सेयर बजारप्रति कस्तो धारण राख्छ भन्ने अन्योलताले पनि लगानीकर्ताको मनोबल कमजोर हुने गर्छ ।

अहिलेको राजनीतिक अवस्थाले धितोपत्र बजार घटेको समयमा धितोपत्रको आपूर्ति बढाएको हो । राजनीतिक अवस्थाले लगानीकर्ता सेयर बिक्री गर्ने पक्षमा देखिएका हुन् ।

राजनीतिक अवस्थामा परिवर्तन आएको खण्डमा पुनः खरिद गर्न सकिने भएकाले पनि अहिलेका लागि आफ्नो लगानी बजारबाट झिक्दा राम्रो हुने भन्दै लगानीकर्ताले बिक्रीको चाप बढाउँदा २ दिनमै नेप्से परिसूचक १०५ अंकले घटेर २६ सयको लाइनमा आएको हो ।

लामिछानेलाई पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएको छ । पोखरामा लामिछाने समर्थक समूहले विरोध प्रदर्शन जारी राखेको अवस्था छ । लामिछानेले भने आफू निर्दोष भए पनि कानुनी प्रक्रियालाई सघाउन प्रहरी तथा न्यायालयलाई सहयोग गर्दै आएको बताएका छन् ।

लामिछाने दोषी नठहरिएको खण्डमा राजनीतिक वृत्तमा ठुलै परिवर्तन आउने अपेक्षा आमसर्वसाधारणको छ । त्यसले सेयर लगानीकर्तालाई बजार अझै घट्ने अनुमान गर्न सहयोग गर्‍यो ।

बजार अझै घट्ने सम्भावना देखिएपछि लगानीकर्ता थप सस्तोमा किन्ने सोचसहित अहिले बिक्री गर्न थाल्दा बजार सूचक घटेको हो ।

सोमबार नेप्सेमा २३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२१ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र बजार सूचक नेप्से ५७.९९ अंकले घटेको हो ।

सोमबार कारोबार सुरु हुँदा २६९७.९१ अंकमा रहेको नेप्से सोमबारको कारोबारपछि २६३९.९२ अंकमा झरेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २८० अंकले घटेको छ । त्यसैगरी प्रतिशतका आधारमा वित्त समूह सबैभन्दा धेरै ३.३८ प्रतिशतले घटेको छ ।

सोमबार नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । सोमबार नेप्सेमा ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर ५ अर्ब ९० करोड रुपैयाँमा खरिदबिक्री भएको छ ।

यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।