ह्यात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तिब्रता दिएको छ । ह्यातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा सञ्चालनमा ल्याउन लागेको ह्यात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ ।
ह्यात होटल्स कर्पोरेसनले आफ्नो ब्राण्ड विस्तारलाई प्राथमिकता दिएको हो । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा ह्यात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ । कुल १७५ कोठा रहेको यो होटल गोल्यान समूह अन्तर्गतको दोस्रो होटलको रूपमा संचालमा रहनेछ । यसअघि काठमाडौँ सोल्टीमोडमा ह्यात प्यालेस होटल ह्यातको होटल चेन अन्तरगत सञ्चालनमा छ ।
यो सम्झौताले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपूर्ण स्थानमा रहेको बताइएको छ । ह्यात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने गरी गोल्यान ग्रुपले निर्माण गरिरहेको छ ।
रूपन्देहीको दानव नदीको किनारमा निर्माणाधीन ‘ह्यात रेजेन्सी लुम्बिनी’ गौतम बुद्धको जन्मस्थल मायादेवीको मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमा अवस्थित छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारत सीमाको नजिक रहने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पु¥याउन होटल सहयोगी हुने विश्वास लिइएको छ ।
ह्यातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक विषयलाई समृद्ध तुल्याउन ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि आकर्षक गन्तव्यको रूपमा रहने बताए । यसले ह्यातको संसारभरका ग्राहक र संचालकलाई मनपर्ने गन्तव्यका रुपमा ह्यातको ब्रान्डको दायरालाई विस्तार गर्ने प्रतिबद्धतालाई स्थापित गरेको उनको भनाई छ । दक्षिण पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि नेपालमा ह्यात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्यको अपेक्षा उनले गरेका छन् ।
ह्यात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएको बताइएको छ । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रण सहितका हुने गोल्यान ग्रुपले जनाएको छ ।
“ह्यातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो ह्यात रेजेन्सी ब्रान्डको होटलको रुपमा सुरु गर्न पाउँदा अत्यन्तै खुशी छौं,” गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, “गोल्यान ग्रुपको ह्यात रेजेन्सी लुम्बिनी रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो, जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पु¥याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्दछ ।” होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्ने र नेपालको पर्यटन उद्योगको विकासमा महत्वपुर्णयोगदान पुर्याउने उनको भनाई छ ।
कुल ११ एकड (८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरू, अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका मनोरञ्जनका सुविधाहरू रहने छन् ।
ह्यातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एशियामा ५२ होटल छन् । जसमा भारतमा ५० र नेपालमा २ वटा रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।
ह्यातको विश्वभर ७८ देशमा १ हजार ३ सय ५० भन्दा बढी होटल सञ्चालनमा छन् भने दक्षिण एसियामा मात्र ५ सय भन्दा बढी होटल सञ्चालनमा छन् ।
नेपालमा सबैभन्दा पुरानो ह्यात रिजेन्सी २४ वर्षअघि खुलेको थियो । गोल्यान ग्रुप अन्तर्गत दोस्रो होटल ह्यात प्यालेस होटल सञ्चालनमा छ तेस्रो होटल पनि गोल्यान ग्रुप अन्तर्गत नै लुम्बिनीमा सञ्चालनमा आउन लागेको हो ।
प्रतिक्रिया