रसुवागढी र तातोपानी बन्द भएपछि कोरलामा बढ्यो व्यापार, दुई महिनामै ८ अर्बको आयात


काठमाडौँ । रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि चीनसँगको व्यापारको प्रमुख केन्द्र मुस्ताङको कोरला नाका बनेको छ । भोटेकोशी बाढीका कारण रसुवागढी नाका क्षतिग्रस्त भएपछि तथा तातोपानी नाका पनि बन्द भएपछि चिनियाँ सामान आयातका लागि कोरला नाका वैकल्पिक व्यापारिक मार्ग बनेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिनामा कोरला नाकाबाट ८ अर्ब ३३ करोड २१ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधीको तुलनामा उल्लेख्य वृद्धि हो । गत आर्थिक वर्ष उक्त नाका हुँदै १२ करोड १ लाख रुपैयाँ बराबरको मात्रै वस्तु तथा सामान आयात भएको थियो ।

यसअघि कोरला नाका मुख्यतः उपल्लो मुस्ताङका नागरिकको सीमावर्ती व्यापार र सीमित व्यावसायिक कारोबारमा केन्द्रित थियो । तर पछिल्लो समय रसुवागढी र तातोपानीमा प्राकृतिक विपत्तिका कारण पटक–पटक अवरोध हुन थालेपछि कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्न थालिएको थियो । अहिले दुवै प्रमुख नाका एकैपटक बन्द भएपछि यसको व्यापारिक महत्व थप बढेको छ ।

रसुवागढी र तातोपानी बन्द हुनुअघि कोरला नाकाबाट सामान्य अवस्थामा दैनिक केही मात्रै मालवाहक कन्टेनर जाँचपास हुने गरेका थिए । तर भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्यसको संख्या तीव्र रूपमा बढेको छ । मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले कोरला नाकाबाट दैनिक करिब ५० वटा मालवाहक कन्टेनर जाँचपास भइरहेका छन् ।

चीन हुँदै नेपाल आउने चाडबाड लक्षित सामानहरू डाइभर्ट गरेर कोरला नाकाबाट ल्याउने काम भइरहेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष राहमरि कार्कीले बताएका छन् ।

उनका अनुसार, लामो दुरी र अप्ठ्यारो सडक भएका कारण समयमा सामान आयात नहुँदा चाडपर्वलक्षित व्यवसायीले ल्याइरहेको सामान बजारमा नआइपुग्ने र उपभोक्तामाझ नपुग्ने अवस्था देखिएको छ ।

उत्तरतर्फका दुईवटै नाका जोखिमपूर्ण भएसँगै तत्कालका लागि कोरला नाका सञ्चालनमा आए पनि दीर्घकालिन रुपमा यो नाका सहज नहुने केन्द्रिय भन्सार विभागका निर्देशक किशोर बर्तौलले बताएका छन् ।

‘तुलनात्मक रूपमा लामो दुरी र लागत लगायतका कारणहरूले गर्दा मुस्ताङ नाकालाई व्यावसायिक रूपमा विकल्प बनाउन कठिन छ,’ उनले भने, ‘काठमाडौंदेखि अप्पर मुस्ताङको कोरला नाकासम्मको दूरी ४८२ किलोमिटरभन्दा बढी छ, जुन तुलनात्मक रूपमा काठमाडौं–तातोपानी र काठमाडौं–रसुवागढीसम्मको दूरीभन्दा दोब्बरभन्दा बढी हो ।’

जबकी काठमाडौं–रसुवागढीको दूरी जम्मा १७५ किलोमिटर हो भने काठमाडौं–तातोपानीको दूरी जम्मा ११५ किलोमिटर मात्र हो । यसले पनि दूरीका हिसाबले मुस्ताङस्थित कोरला नाका उति व्यावहारिक नदेखिने उनको भनाई छ । उनका अनुसार, लागत दोब्बरभन्दा बढी नै आउँछ । बाटोको सहजताका हिसाबले पनि सहज छैन । साघुरो बाटो हिउँदको समयमा चिसो बढी हुँदा काम गर्न सक्ने अवस्था नै नहुने उनले उल्लेख गरे ।

रसुवागढी नाका पूर्ण रुपमा बन्द नहुँदै भदौ १० गते अघि चालु आर्थिक वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा ५३ लाख मात्रै राजस्व सङ्कलन भएको थियो । यस अवधिको ४० दिनमा कोरलानाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारी (इभी) गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो ।

मुस्ताङ भन्सारका चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख विदुर चुडालले बताए । उनका अनुसार, साउन महिनामा २६ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएकोमा भदौ महिनामा २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको हो । उक्त नाका हुँदै धेरै जसो विद्युतीय सवारी (इभी) गाडी आयात भएको उनले जानकारी दिए ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर रसुवागढी र तातोपानीबाट हुने व्यापारको केही हिस्सा कोरला नाकामा सरेपछि लक्ष्यभन्दा बढी राजस्व उठ्ने सम्भावना देखिएको उनले बताएका छन् ।

रसुवागढी र तातोपानीमा पटक–पटक हुने प्राकृतिक विपत्तिले नेपाल–चीन व्यापारका लागि वैकल्पिक नाकाको आवश्यकता स्पष्ट पारेको छ । कोरला नाकाले अहिले आकस्मिक अवस्थामा व्यापारलाई निरन्तरता दिने विकल्प दिएको भए पनि ठूलो परिमाणको नियमित व्यापार धान्न थप पूर्वाधार आवश्यक देखिन्छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।