घट्दो बजारमा बढ्दो कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से ओरालो लागेपछि शेयर बजारमा सस्तोमा शेयर उठाउनेहरु सक्रिय बन्दा साताको शेयर कारोबार रकम करिब ३२ प्रतिशतले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से यस साता ७.२१ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार १२६४.३६ अंकमा खुलेको शेयर बजार परिसूचक नेप्से अन्तिम कारोबार दिन बिहीबार १२५७.१५ बिन्दुमा झरेको हो।

सातामा पाँच कारोबार दिन नै खुला रहेको नेप्से सूचक ऋणात्मक रहेपनि कारोबार रकम भने करिब ३२ प्रतिशतले सुधारिएको छ। यस साता स्टक एक्सचेञ्जमा ७५ लाख ५८ हजार कित्ता शेयर किनबेच भएर २ अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो रकम गत साताको तुलनामा ३१.७५ प्रतिशतले बढी हो । गत साता १ अर्ब ९१ लाख रुपैयाँको कारोबार भएको थियो।

नेप्से सूचकमा सोमबार र मंगलबार सामान्य अंकले सुधार भएपनि बाँकी तीन कारोबार दिनहरुमा घटेपछि नेप्से सूचक ऋणात्मक बनेको हो ।