कोरोना नियन्त्रणमा सरकारले चालेका सबै पहलमा सघाउने एफएनसीसीआईको प्रतिबद्धता

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको सबै कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै तीनै तहका सरकारले चालेका विभिन्न पहलमा सहकार्य गर्ने प्रतिवद्धता जनाउँदै सबै उद्योगी व्यवसायीलाई आवश्यक सहयोग गर्न अपिल समेत गरेको छ ।

महासंघले कोरोना संक्रमितहरूको संख्या र मृत्युदर दिनानुदिन बढ्दा मुलुकवासीको स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रमा गम्भीर धक्का लागेको भन्दै महामारीको समयमा सरकारको मात्र भर नपरी उद्योगी व्यवसायीका तर्फबाट पनि आफ्नो उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी काम गर्न अनुरोध गरेको छ।

‘कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका जति पनि कार्यक्रम, योजना, घोषणा छन् तिनलाई सफल कार्यान्वयनमा लैजान हामी सवैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।’ महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै महासंघ तीनै तहका सरकारले यस दिशामा गरेका सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता एवं विश्वास दिलाएको छ । साथै संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सवै स्वास्थ्य प्रोटोकलहरूलाई पालन गरी आफनो स्वास्थ्यको ख्याल गर्न आम जनसमुदाय समक्ष गम्भीर आग्रह समेत गरेको छ ।

महासंघले संक्रमणबाट ग्रसित भई हाल उपचार गराईरहनु भएका सम्पूर्ण दाजुभाई दिदी बहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा संक्रमणबाट मृत्यु भएका आफन्तजनहरूप्रति हार्दिक समवेदनासमेत व्यक्त गरको छ । 

बुटवल उवासंघका अध्यक्षको घर भत्काइएकोप्रति गम्भीर ध्यानाकर्षण

साथै महासंघले रूपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकापथ बसोबास गर्दै आएका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको नाममा रहेको घर स्थानीय प्रशासनले बल प्रयोग गरी मिति २०७७ साउन २१ गते अमानवीय तरिकाबाट भत्काइएको प्रतिगम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै महासंघले उक्त कार्यको निन्दा एवं भत्सर्ना गरेको छ ।

महासंघले अध्यक्ष हमालले नियमानुसार नक्सापास गराई घर निर्माण गरी नियम अनुसार हालसम्म कर तिर्दै आएको अवस्थामा व्यक्तिको निजी सम्पत्तिमाथि हस्तक्षेप गरी भत्काइनु विधिसम्मत नभएको जिकिर गरेको छ । साथै विधि विपरित घर भत्काइएको बारे छानविन हुनुका साथै पिडीतलाई उचित व्यवस्था मिलाउन पनि महासंघले सरकार समक्ष आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।