जनशक्ति अभावले घरेलु उद्योग बन्द हुँदै


काठमाडौँ । जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन् । गत आर्थिक वर्ष २०८०र८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी देखिएको हो ।

बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि विदेश पलायनलगायत कारणले जनशक्ति अभाव भई जिल्लाका उद्योगहरू बन्द हुन थालेका जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कले देखाउँछ ।

गत आवमा ४६ उद्योग दर्ता भएका छन् भने ६७ उद्योगको लगत कट्टा गरेका कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए । उनका अनुसार गत आवमा सात उत्पादनमूलक, १५ कृषि तथा वनजन्य, छ पर्यटनसम्बन्धी उद्योग, १८ सेवामूलक गरी ४६ वटा उद्योग दर्ता भएका छन् ।

एक वर्षमै ६७ वटा उद्योगहरु भने बन्द भएको जानकारी थापाले दिए । उनका अनुसार उत्पादन मूलक ११, कृषि तथा वन जन्य १८ उद्योग, पर्यटनतर्फ १७ उद्योग, सेवामुलक २१ वटा उद्योगले लगत कट्टा गरेका छन् ।

“बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुनेक्रम बढेको हो । साथै अनुदान तथा आर्थिक गतिविधि देखाउन दर्ता गर्ने र पछि बन्द गर्नाले पनि उद्योगको सङ्ख्या घटेको हो”, प्रमुख थापाले भने,“वाणिज्यतर्फ फर्म दर्ता गर्ने बढी छन् ।”

एक सय चार फर्म दर्ता हुँदा ८८ को लगत कट्टा गरिएको उनले बताए । उनका अनुसार अहिले पर्यटन तथा उद्योग कार्यालयमा तीन सय १८ उद्योग र चार सय ७२ वाणिज्यतर्फका फर्म नवीकरण भएका छन् ।

प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार  १६ : ५० बजे