रेमिट्यान्स आप्रवाह बढेर आयात घट्दा शोधनान्तर स्थिति २ खर्बले बचतमा


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा देशको बाह्य अर्थतन्त्र झनै मजबुत भएको छ । रेमिट्यान्स आप्रवाहमा आएको सुधार संगै आयात घटेपछि बाह्य अर्थतन्त्र बलियो भएको हो । 

चालु आर्थिक वर्षको असोजसम्ममा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको छ । त्यसैगरी बस्तु आयात ४.२ प्रतिशतले घटेको छ । यी दुई सुचकमा देखिएको परिवर्तनले शोधनान्तर स्थिति पनि करिब २ खर्बले बचतमा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 

चालु आवको असोजसम्ममा बस्तु आयात घटेपनि चालु खाता एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ । 

चालु आवको असोजसम्ममा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रुपौयँ थियो
चालु खाता संगै खुद आएको देखिएको सुधारले असोजसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार  १५ : ०४ बजे