मर्चेण्ट बैंकरले शेयर सम्बन्धि सबै सेवा घरबाटै दिने, डिम्याट खाता खोल्न कार्यालय जानु नपर्ने


कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मर्चेण्ट बैंकरहरुले पनि घर घरबाटै सेवा प्रवाह गर्ने भएका छन् ।

सोमबार बसेको मर्चेण्ट बैंकर एशोसिएसनको भर्चुअल बैठकले संक्रमण जोखिमलाई ध्यानमा राख्दै कर्मचारीहरुलाई घर घरबाटै सेवा प्रवाह गर्ने भद्र सहमति गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अनलाइन सेवालाई जोड दिन बजार सम्वद्ध पक्षलाई निर्देशन दिए बमोजिम मर्चेण्ट बैंकरले पनि यस्तो सहमति गरेका गरेका हुन् । भीडभड हुने क्षेत्रबाट प्रवाह हुने सेवालाई व्यवस्थापन गरी जोखिम न्युनीकरण गर्न विद्युतीय कारोबार तथा वर्क फर्म होमको नीति अवलम्बन गर्ने सम्बन्धमा मर्चेण्ट बैंकरले सहमति जुटाएका हुन् ।

पछिल्लो समय साधारण शेयर निष्काशन गर्ने कम्पनीको संख्या धेरै भईरहेको अवस्थामा आवेदन दिनका लागि निक्षेप खाता खोल्ने सेवाग्राहीको भीड मर्चेण्ट बैंकरमा बढ्न थालेको छ । जसका कारण अनलाइनबाट नै त्यस्ता सेवाग्राहीलाई सेवा दिन मर्चेण्ट बैंकरहरु तयार भएका हुन् ।