विमानस्थलको धावनमार्ग तोकिएकै समयमा सकियो, सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको मर्मत तोकिएको समय मै सम्पन्न भएको छ । प्रधानमन्त्री स्वयम्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सहित विशेष चासो देखाएपछि विमानस्थल मर्मतको काम समयमै सकिएको हो ।

विमानस्थल मर्मतको काममा भने निराशाका कुरा सुन्नु परेन । एकाध दिन निर्माण सामग्रीको आयातमा समस्या देखिए पनि दृढ इच्छाशक्ति, नेपाल नागरिक उड्डयन प्राधिकरणको सचेत पहल तथा निर्माण व्यवसायीको मिहिनेतले काम तोकिएको समय अर्थात् ९० दिनमा नै पूरा भएकोे छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ । गत चैत १८ गतेदेखि शुरु गरिएको धावनमार्ग मर्मत आइतबार राति सम्पन्न हुनेछ ।

तीन सय नेपाली र चिनियाँ कामदार रातभर खट्थे, भत्काएको धावनमार्गमा निर्माण सामग्री हालिन्थो र कालोपत्र गरेर जस्ताको तस्तै बनाइन्थ्यो । बिहान ८ बजे विमानस्थल खुल्थ्यो, जहाजको उडान र अवतरण शुरु हुन्थ्यो । जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आज राति पूर्णरुपमा सम्पन्न हुने जानकारी दिए ।

चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट कामलाई पनि छिट्टै सम्पन्न गरिनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पोखरेललाई पनि काम नसकिएका कि भन्ने उस्तै चिन्ता थियो । बीचमै केही गडबढी भइहाल्यो भने त मुलुकको प्रतिष्ठामा नै समस्या आउँछ । त्यसको जवाफ कसरी दिने भन्ने छटपटीले पोखरेललाई सताएको थियो । “हामीले आवश्यकता र बाध्यतालाई केन्द्रमा राख्याँै । निर्माण व्यवसायीलाई सोहीअनुसार आग्रह ग¥यौँ । निर्माण सामग्रीको जोहो पनि त्यसरी नै ग¥यौँ । त्यसले हामीलाई जटिल काम समयमै सक्ने वातावरण बनायो,” पोखरेले भने ।
धावनमार्गमा आवश्यकताअनुसार नयाँ कालोपत्र राखिएको छ । आयोजनाका निर्देशक भन्छन, “तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।”

निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित ४ अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा लिएको थियो । धावनमार्ग मर्मतको काम कोटेश्वरतर्फको ‘जिरो टू’देखि शुरु गरिएको हो । प्राधिकरणका अनुसार एक हजार ६०० मिटरसम्म धावनमार्गमा अत्यन्तै बिग्रिएको थियो । विमानस्थल मर्मतमा पहिलो पटक ‘मेलिङ मेशिन’ प्रयोग भएको निर्देशक पोखरेल बताछन । “ठूलो काम सम्पन्न भएको छ । बाँकी रहेका केही काम भने क्रमशः अगाडि बढाइनेछ ,” उनले भने ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव पूर्ण अवस्था पनि व्यहो¥यो । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तराष्ट्रिय विमान उडान र अवतरण गर्न थालिएको थियो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् ।

विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तराष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती गरियो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास लिइएको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्राउने लक्ष्यसमेत राखेको सन्दर्भमा विमानस्थल २४ सै घण्टा पूर्ण सञ्चालनमा आउनु देशकै लागि पनि सुखद खबर हो ।