उद्योग संगठन मोरङमा आबद्ध उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा उद्योगमन्त्री दामोदर भण्डारीसँग उद्योगहरु धरासायी बन्ने जोखिम बढेको भन्दै ध्यानाकर्षण गराएका छन् । बिराटनगरबाट संगठनका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अर्थ र उद्योगमन्त्रीका साथै प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई भेटी उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समसामयिक समस्याका सम्वन्धमा जानकारी गराएका हुन् ।
संगठनका अध्यक्ष राकेश सुरानाले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग बजारमा लामो समयदेखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुदै गएकोतर्फ ध्यानाकर्षण गराएका हुन् । यो क्रम अझ लम्बिए यसले उद्योग व्यवसायहरुमा दुरगामी प्रभाव पर्नेतर्फ ध्यानाकर्षण गराउँदै यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि अग्रसर हुन उनले आग्रह गरे ।
सुरानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँगको छलफलमा नेपाली वस्तुले व्यूरो अफ इण्डियन स्टायान्डर्ड (बिआईएस) को प्रमाण पत्र लिएर मात्र भारत निर्यात गर्न पाउने भारतीय नीतिले नेपालका प्लाईउड, जुत्ता, स्यानेटरी प्याड, सिमेन्ट उद्योगहरुलाई समस्यामा पारेको भन्दै सहजीकरणका लागि आग्रह गरेको छ । भारतले लागु गरेको सो नीति नेपाली उद्योगका लागि अवसर भएपनि तत्कालका लागि भारत निर्यातमा परेको प्रभावलाई मध्यनजर गरी नेपाली वस्तुलाई व्यूरो अफ इण्डियन स्टायान्डर्डको प्रमाण पत्र लिने प्रकृयामा कृटनीतिक माध्यमबाट सहजीकरण गर्न संगठनले उद्योगमन्त्री समक्ष अनुरोध गरेको छ ।
त्यसैगरी २०८० जेष्ठ १० गते विराटनगरको आइ.सि.पि. सम्म आएको कार्गो रेल हालसम्म शुल्कका कारण सञ्चालनमा आउन नसकेकोतर्फ प्रधिनिधि मण्डलले ध्यानाकर्षण गराउँदै कार्गोरेल सञ्चालनका लागि शुल्क परिमार्जन गर्न प्रतिनिधिमण्डलले उद्योग मन्त्रीसँग आग्रह गरेको छ ।
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज खतिवडासँगको छलफलमा आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सुक्ष्म अध्ययन गरी सरकार र नीजि क्षेत्रले हातेमालो गर्ने वाताबरण बनाउन संगठनले सुझाव दिएको छ ।
संगठनका अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, दिपक अग्रवाल, वीरेन्द्र राठी र महानिर्देशक चुडामणि भट्टराई सम्मीलित प्रतिनिधि मण्डलले सिंहदरबारमा भेट गरेको हो ।
संगठनको आयोजनामा विराटनगरमा आगामी माघ ११ देखि २० गते सम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा छलफल गरी दुवै कार्यक्रमलाई उपलब्धिमूलक बनाउन पनि संगठनले अर्थ मन्त्रालय, उद्योग मन्त्रालयलाई सहयोग एवं सहजीकरणका लागि अनुरोध गरेको छ ।
प्रतिक्रिया