अन्तशुल्क स्टिकर छपाई प्रकरणमा दुई निकायका तत्कालीन प्रमुखलाई ८ वर्ष कैद सजाय


विशेष अदालतले अन्तशुल्क स्टिकर छपाई प्रकरणमा सुरक्षण मुद्रण केन्द्र र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन प्रमुखहरुलाई ८ वर्षको कैद सजाय सुनाएको छ ।

बिहीबार विशेष अदालतले अन्तशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद सजायको फैसला गरेको हो ।

गत कात्तिक १४ गते दोषी ठहर भएका उनीहरुलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले जेल सजायका साथै बिगो र व्याजको सजाय सुनाएको हो । जस अनुसार दुवै जनालाई जनही ३ करोड ४१ लाख २२ हजार ८०० रुपैयाँ बिगो र बिगो बराबरको जरिवाना समेत भराउने र ८ वर्ष कैद सजाय सुनाइएको छ ।

यो प्रकरणमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसहित १० जनालाई भने विशेष अदालतले यस अघि नै सफाई दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तशुल्क स्टिकर खरिदमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष सहित गत बैसाख ९ गते अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार  १९ : १९ बजे