असोजको पहिलो सातादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले महंगिएको तरकारीको भाउ अझै सामान्य हुन सकेको छैन।
अहिले पनि कालिमाटीमा तरकारीको भाउ उच्च छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन नसकेको बेला बढेको मूल्यमा सुधार नभएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा, काउली, प्याज, लौका, हरियो फर्सी, इस्कुस, तिते करेला, पालुगो साग, तोरीको साग जस्ता तरकारीको भाउ उच्च छ ।
अवस्था सामान्य बनेको भएतापनि बाढी पहिरोले तरकारी तथा तरकारीको बीउ नै नष्ट गरेकोले आयातमा सुधार नभएकोले भाउ पहिलाको अवस्थामा नआएको एक व्यापारीले बताए ।
पहिलाको तुलनामा भाउ सामान्य घटेको भन्दै उनले अब विस्तारै मूल्य घट्दै जाने उनको भनाइ छ । शुक्रबार तराई सानो गोलभेँडाको प्रतिकेजी अधिकतम मूल्य १२० रुपैयाँ तोकिएको छ भने काउली ज्यापुको प्रतिकेजी अधिकतम मूल्य १३० रुपैयाँ तोकिएको छ ।
शुक्रबार ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ, रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । यस्तै बन्दा लोकल ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ , प्याज ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४० रुपैयाँ प्रति केजीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया