पोर्टफोलियो कार्यान्वयनमा नेपाल दक्षिण एशियाकै उत्कृष्ट : विश्व बैंक

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकबाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि आग्रह गरेका छन् ।

विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर बीच विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरु बारे शुक्रबार भिडियो कन्फरेन्स मार्फत छलफल गर्दै सो आग्रह गरेका हुन् ।

नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको मन्त्री खतिवडाको भनाई थियो ।

अर्थमन्त्री खतिवडाले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरे ।

खतिवडाले प्रतिकूलताका बावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १।६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता ९ट्रेजरी० घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराए ।

अर्थमन्त्रीले स्वास्थ्य र आर्थिक पुनरुत्थान सगसंगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ र्पुयाएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराए । उनले विश्व बैंकसंग हालै संझौता भएको रणनैतिक सडक आयोजना हाल सम्मकै ठूलो एकल आयोजना रहेको र गत बर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्व डलर थप प्रतिवद्धता प्राप्त भएको बताए ।

विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएको बताए ।

उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद खतिवडाको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गरे । विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा प्रस्तुत गरिने योजना रहेको जानकारी गराए ।

बैंकका उपाध्यक्षले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सकृयतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको जानकारी समेत गराए ।

उनले दुवै पक्षवाट तयारी पूरा भएका थप चार आयोजनाहरु वोर्डमा निर्धारित मिति मै पेश गर्ने गरी तयारी भैरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि वढाउन विश्व बैक तयार रहेको बताए। नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड १९ को प्रभाव कम हुने वित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गरे ।

उक्त छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।