असहज परिस्थितिमा विद्युतीय बैंकिङ कारोबार बढ्यो, सेवा शुल्क भने घटेन

0
Shares

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई विद्युतीय बैंकिङ कारोबार गर्न जोड दिएपनि सेवा शुल्कमा भने कुनै सहुलियत नदिएको पाइएको छ ।

बैंक/वित्तीय संस्थाका आम्दानीको स्रोत घटेपछि नि:शुल्क गर्दै आएको अनलाइन, मोबाइल बैंकिङ लगायतका विद्युतीय कारोबारमा उच्च दरको शुल्क लिने गरेका हुन्।

कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प भएको अवस्थामा बैंकिङ कारोबार पनि घटेको छ । बैंकमा पैसा थुप्रिएको छ । बैंकहरुले लगानी गर्ने अवसर नपाएको हुनाले आम्दानी स्रोतहरु खुम्चिँदै गएका छन् ।

विषम परिस्थितिमा ग्राहक बैंकसम्म पुगेर सेवा लिने अवस्था पनि छैन । यस्तो अवस्थामा बैंक वित्तीय संस्थाले ग्राहकबाट विद्युतीय कारोबारको शुल्क लिएर आम्दानी गर्ने अवसरको रुपमा लिएका छन् ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारी झनै जटिल अवस्था तर्फ गएपछि सरकारले लकडाउन पछि भदौ ३ गते देखि पुनः निषेधाज्ञा गरेको अवस्था छ । यो अवस्थामा ग्राहकहरु बैंकसम्म जान नसक्ने अवस्था छ ।

तर, घर बसेर प्रविधिमा आधारित बैंकिङ सेवा उपयोग गर्दा भौतिक उपस्थितिको भन्दा महङ्गो पर्न गएको एक सेवाग्राहीको गुनासो छ । “मेगा बैंकबाट गरिमा विकास बैंकको खातामा अनलाइन मार्फत भुक्तानी गर्दा २० रुपैयाँ शुल्क लागेको छ,” ति सेवाग्राहीले भने, “अहिलेको अवस्थामा बैंकमा जान सम्भव नभएकाले विद्युतीय कारोबार गर्दा दिनुपर्ने सेवाशुल्क घट्नुपर्ने हो नि ।” निषेधाज्ञा हुँदा विद्युतीय भुक्तनीलाई बैंकहरुलाई कमाउने अवसर रुपमा लिएको उनले गुनासो गरे । “विद्युतीय कारोबारको विकल्प छैन, बैंकसम्म जाने अवस्था पनि छैन, यो विषम परिस्थितीलाई बैंकहरुले अवसरको रुपमा लिनु हुँदैनथ्यो,” उनले भने ।

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न भनिरहेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेको अवस्था छ ।

अहिले ग्राहकले चाहेर पनि बैंकसम्म पुग्ने अवस्था छैन । ग्राहक बैंकसम्म पुग्न नसक्ने र बैंकिङ कारोबार पनि नगरी नहुने अवस्थामा विद्युतीय कारोबारलाई आत्मसाथ गर्नुको विकल्प छैन । ग्राहकलाई विकल्प नदिई बैंकहरुले प्रविधिको प्रयोगमा पनि सेवा शुल्क म्यानुअलको तुलनामा नै लिने गरेका छन् । प्रविधिको प्रयोगले ग्राहकले पाउने सेवा झनै सस्तो हुनु पर्छ भन्ने मान्यता राखिन्छ ।

नेपाल राष्ट्र बैंकले विषम परिस्थितिमा ग्राहकलाई घरबाट नै कारोबार गर्न सकिने विद्युतीय बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न भनेको छ । अहिलेको अवस्थामा बैंकहरुले विद्युतीय कारोबार गर्दा उच्च शुल्क लिएको गुनासो धेरै सेवाग्राहीले गरेको राष्ट्र बैंकमा कार्याकारी निर्देशक भुवन कँडेलले बताए । “सेवाग्राहीका गुनासाहरु आएको भन्दैमा हामीले बैंक वित्तीय संस्थालाई सेवा शुल्क नलिग भन्न मिल्दैन,” उनले भने, “अहिलेको संकटको समयमा बैंक वित्तीय संस्थाले नाफा कमाउने भन्दा पनि सबै बाच्नुपर्छ भन्ने सोचअनुसार न्यूनतम शुल्कमा सेवा दिँदा राम्रो हून्छ ।” यस विषयलाई छलफलमा ल्याउन आवश्यक देखिएको समेत कँडेलले बताए ।

कोरोनाका कारण सरकारले लकडाउन गरेको समयमा आरटिजिएस तथा एटिएमको कारोबार निःशुल्क गर्न भनिएको भएपनि विद्युतीय भुक्तानीका अन्य सेवाहरुमा शुल्क नलिन भनेर निर्देशन जारी नगरेको समेत कँडेलले बताए । नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटिएम शुल्क नलिन भनेपछि बैंक वित्तीय संस्थाका छाता संगठनहरुले गत साउन १ गते देखि शुल्क लाग्ने र लिने निर्णय गरे । त्यस लगत्तै केन्द्रीय बैंकले परिस्थिती सहज अवस्थामा नभएकाले अन्तर बैंक एटिएमको प्रयोग गर्दा शुल्क नलिन निर्देशन दिएको थियो ।

सरकारले चैत ११ गते देखि लकडाउन गरेको अवस्थामा बैंक वित्तीय संस्था तथा वित्तीय क्षेत्रमा विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनीहरुले निःशुल्क सेवा दिएका थिए । तर, बैंक वित्तीय संस्थाका छाता संगठन बैंकर एसोसिएसन, डेभलपमेन्ट बैंकर एसोसिएसन र वित्त कम्पनी संघहरुले संयुक्त निर्णय गरेपछि विद्युतीय कारोबार सेवा प्रदायक कम्पनीहरुले पनि पुर्ववत रुपमा नै सेवा शुल्क लिन थाले।

सरकाले लकडाउन घोषणा गरेको समयमा बैंक वित्तीय संस्थाले विद्युतीय कारोबारहरु निःशुल्क प्रदान गर्दै आएको, नगद झिक्नका लागि अन्तर बैंक कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेका थिए । त्यसैगरी नेपाल क्लियरिङ्ग हाउसले पनि विद्युतीय कारोबारको शुल्क लिएको थिएन । तर, अहिलेको निषेधाज्ञामा भने एनसीएचएलले समेत पुरानै दरमा सेवा शुल्क लिँदै आएको छ ।

डिजिटल कारोबार बढ्यो

सरकारले लकडाउन जारे गरेपछि वैशाखदेखि असारसम्मको तीन महिनामा विद्युतीय कारोबारमा उल्लेखनीय बढोत्तरी आएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

तीन महिनामा सबैभन्दा धेरै रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत कारोबार भएको छ । असारमा मात्रै आरटीजीएस मार्फत ११४ खर्ब ६३ अर्ब रुपैयाँ कारोबार भएको छ । ईसीसी मार्फत ७ खर्ब ९२ अर्ब, आईपीएस मार्फत दुई खर्ब २३ अर्ब, यस्तै कनेक्ट आइपिएस मार्फत बैशाखमा २३ अर्ब, जेठमा ३८ अर्ब र असारमा ५१ अर्बको कारोबार भएको छ । वालेट मार्फत वैशाखमा ४ अर्ब, जेठमा ७ अर्ब र असारमा १० अर्बको कारोबार भएको छ ।

असारमै एटीएम मार्फत ५४ अर्ब ७६ करोड, मोबाइल बैंकिङ मार्फत १८ अर्ब ८३ करोड, इन्टरनेट बैंकिङ मार्फत १९ अर्ब, डेबिट कार्ड मार्फत २५ अर्ब ८९ करोड, वालेट मार्फत १० अर्ब दुई करोड रुपैयाँ कारोबार भएको छ ।

वैशाखमा ८ अर्ब रुपैयाँ मोबाइल बैंकिङ्गको कारोबार भएकोमा जेठमा १४ अर्ब र असारमा १८ अर्ब पुगेको छ । यस्तै बैशाखमा झण्डै १० अर्बको इन्टरनेट बैंकिङको कारोबार भएकोमा जेठमा १७ अर्ब र असारमा १९ अर्ब पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।