काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिइराखेका छन् ।
सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन वृद्धि नभए पछि स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि उपायको खोजी थालेका हुन् ।
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिँदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए ।
प्रयाप्त औषधी उत्पादन नभएकोबारे गुनासो सुने पछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे । मन्त्री पौडेललाई कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरे पछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग निकाल्दै सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब ख्वाउनका लागि सरकारले रकम दिन नसक्ने प्रष्ट पारे ।
‘‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’’ मन्त्री पौडेलले भने, ‘‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उत्पादान दिन सकिन्न ।’’
मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधी किन्न खोज्दासमेत नपाइने अवस्था आएको भन्दै प्रयाप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न भने ।
प्रतिक्रिया