दशैँको मुखमा चीनसँगका तीनवटै नाका ठप्प, आपूर्ति, ढुवानी र मूल्यमा दबाब


काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दशैँ नजिकिँदै गर्दा चीनसँगको स्थलगत व्यापार ठप्प भएको छ । उक्त अवरोधले व्यापारीदेखि उपभोक्तासम्मलाई असर पार्न थालेको छ ।

चाडपर्वका लागि आवश्यक वस्तुको माग बढ्ने समयमा चीनसँगका प्रमुख व्यापारिक नाका प्रभावित भएपछि बजारमा सामानको आपूर्ति, ढुवानी र मूल्यमा दबाब सिर्जना भएको हो ।

नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण मानिएका रसुवागढी, तातोपानी र कोरला नाकामध्ये विभिन्न कारण सबै नाका प्रभावित हुँदा व्यवसायीले समयमै सामान ल्याउन नसक्ने अवस्था भोगिरहेका छन् ।

दसैँ, तिहार र छठजस्ता पर्वलाई लक्षित गरेर व्यापारीले केही महिनाअघिदेखि नै कपडा, जुत्ता, विद्युतीय सामग्री, सजावटका सामान, खेलौना, उपहारका सामग्रीलगायत विभिन्न वस्तु आयात गर्ने गर्छन् । तर यसपटक मुख्य व्यापारिक मार्गमै अवरोध भएपछि चाडपर्वका लागि ल्याइएका तथा ल्याउने तयारीमा रहेका सामानको आपूर्ति प्रभावित भएको छ ।

विशेषगरी रसुवागढी नाका प्रभावित भएपछि चीनसँगको व्यापारीक सम्बन्ध खल्बल्लिएको छ । रसुवागढी नाका नेपाल–चीन व्यापारको महत्वपूर्ण नाका हो । चाडपर्वको समयमा यही नाकाबाट ठूलो परिमाणमा उपभोग्य तथा व्यापारिक सामान भित्रिने भएकाले नाका प्रभावित हुँदा त्यसको असर काठमाडौं उपत्यकासहित देशका विभिन्न बजारसम्म पुग्ने गरेको छ ।

त्यस्तै, तातोपानी नाका पनि अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा व्यापारीका लागि अर्को समस्या थपिएको छ । चीनतर्फको सडक तथा भौगोलिक अवस्थाका कारण समय–समयमा तातोपानी नाका प्रभावित हुँदै आएको छ । यसपटक पनि नाका पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यापारीले वैकल्पिक मार्ग खोज्नुपर्ने अवस्था आएको छ ।

रसुवागढी र तातोपानीबाट सामान ल्याउन कठिन भएपछि व्यापारीको ध्यान मुस्ताङको कोरला नाकातर्फ गएको थियो । पछिल्लो समय कोरला नाका चीनसँगको व्यापारका लागि वैकल्पिक मार्गका रूपमा अघि आएको छ । तर कोरला नाकाबाट हुने व्यापारको पूर्वाधार तथा आयात क्षमता रसुवागढी र तातोपानीको तुलनामा सीमित रहेकाले ठूलो परिमाणको सामान एकैपटक व्यवस्थापन गर्न कठिन भइरहेको व्यवसायीहरू बताउँछन् ।

भन्सार तथ्यांकले समेत पछिल्लो समय कोरला नाकाबाट हुने व्यापारमा वृद्धि भएको देखाएको छ । रसुवागढी र तातोपानीमा समस्या देखिएपछि कोरला हुँदै चीनबाट सामान ल्याउने क्रम बढेको हो । तर वैकल्पिक नाकाबाट व्यापार बढ्दैमा मुख्य दुई नाकाबाट हुने व्यापारको अभाव तत्काल पूर्ति गर्न सहज छैन ।

रसुवागढीपछि चीनबाट हुने व्यापारिक चाप कोरला नाकातर्फ सार्ने प्रयास भए पनि केहीदिन अघि परेको अबिरल वर्षाका कारण कालीगण्डकीमा आएको बाढीले कोरला नाका जोड्ने सडकमा समेत क्षति पुगेको छ ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गअन्तर्गतका केही पुलका एप्रोच सडक बगेपछि बेनी–जोमसोम सडक खण्ड हुँदै कोरला जाने मालवाहक सवारी साधनको आवागमन रोकिएको हो ।

कोरला नाका र त्यहाँको भन्सार कार्यालय सुरक्षित रहे पनि नाकासम्म पुग्ने सडक अवरुद्ध भएपछि चीनबाट सामान तथा सवारी साधन ल्याउन समस्या भएको व्यवसायीले बताएका छन् । सडक अवरुद्ध हुँदा भन्सार पास भएकासहित १५० भन्दा बढी मालवाहक गाडी र कन्टेनर भन्सारमै रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालले बताए ।

बाटो मर्मतका लागि सडक विभागले तीव्र गतिमा काम गरिरहेको र बाटो खुल्ने बित्तिकै सहजरूपमा सामान आपूर्ती हुने उनको भनाई छ । उनका अनुसार, दुवै नाका ठप्प हुँदा चाप बढेको छ । तर सडक पनि अवरुद्ध हुँदा चीनतर्फबाट सामान आयात भए पनि भन्सारमा थन्किएर बसेका छन् । नाकामा भौतिक संरचना उचित नभएको कन्टेरहरु व्यवस्थित गर्न समस्या भएको उनले बताए ।

नाका बन्द हुँदा चीनबाट भित्रिने कपडा, जुत्ताचप्पल, झोलादेखि इलेक्ट्रोनिक्स र विद्युतीय गाडीसम्मको ढुवानी रोकिएको छ, जसले व्यापारी र उपभोक्ता दुवैलाई चिन्तित बनाएको छ । चीनतर्फका तीनवटै नाका बन्द हुँदा व्यवसायी, बजार र आपूर्ति व्यवस्था प्रभावित भएको हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् ।

‘अहिलेसम्म दसैंका लागि ल्याइएका जम्मा २० देखि ३० प्रतिशत मात्र सामान काठमाडौं आइपुगेको छ ।’ उनले भने, ‘दसैँ लक्षित सामान बाटोमै रोकिएका छन्, गोदाममा भएका सामान बाटो डाइभर्ट गरेर कोरला नाकातिरबाट ल्याउन खोजिएको थियो, तर त्यो पनि सबै रोकियो ।’

हरेक वर्ष चाडपर्व लक्षित सामान आयात गर्न कठिन भएको उनको भनाई छ । उनका अनुसार, भूकम्पपछि तातोपानी नाकामा अर्बौं रुपैयाँ खर्च गरेर ड्राइपोर्ट र पार्किङलगायतका सम्पूर्ण सुविधासम्पन्न भौतिक संरचना बनिसकेको छ । तर, चिनियाँ पक्षले आन्तरिक कारण देखाएर खुलाउन नचाहेको र नेपाल सरकारले ठोस पहल नगरेको उनी बताउँछन् ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  ०७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।