प्राविधिक खटिनुअघि बनाएका घरलाई ३ लाख, निजी आवास अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि पारित


राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिक खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट रु तीन लाख उपलब्ध गराउने भएको छ ।

प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरलाई निजी आवास अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेसँगै यस्तो व्यवस्था भएको हो । निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णयअनुरुप द्रुत गतिमा अनुदान उपलब्ध गराउन कार्यकारी समितिले सो कार्यविधि पारित गरेको हो ।

कार्यविधिअनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनःनिर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक परिचालन गर्नुपूर्व निर्माण भएका घरका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने काममा केही ढिलाइ भएकाले अब प्राथमिकताका साथ अघि बढाउन कार्य्विधि बनाइएको बताए ।

“चार लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिएका छन्, चार लाख २३ हजार घर पुनःनिर्माण भइसकेको छ, दुई लाख ११ हजार घर पुनःनिर्माणको क्रममा छन । प्राविधिक खटिनपूर्व १२ हजार घर बनेको तथ्याङ्क छ, थप तथ्याङ्क आउने क्रममा छ, त्यसलाई पनि समावेश गरेर एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ”, उनले भने ।

बैठकले सम्पदा बस्तीका एकल वा बहुस्वामित्वका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्य्विधिलाई पनि पारित गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कार्य्विधि पारित भएकाले मुलतः शहरी क्षेत्रमा देखा परेको बहुस्वामित्वसम्बन्धी अन्योल अन्त्य भई शहरी पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन सहज हुने बताए ।

यसैगरी बैठकले एककोठे घर निर्माणसम्बन्धी मापदण्डलाई पनि स्पष्ट गरेको छ । जसअनुसार एककोठे घरको भित्री भागको न्यूनतम क्षेत्रफल १२० वर्ग्फिट कायम गर्ने र एक कोठेघरसँगै कम्तीमा भूकम्प प्रतिरोधी भान्साघर र कोठा, शौचालय, बरण्डा एवं पाली बनाएको हुनुपर्नेछ ।

यसअघि निर्माण भइसकेका एककोठे घरका हकमा छुट्टै भूकम्प प्रतिरोधी भान्साघर र कोठा, शौचालय तथा बरण्डा एवं पाली बनाएको भएमात्रै अनुदान किस्ता सिफारिस गर्ने र अन्तिम किस्ता सिफारिस भइसकेको भएमा सम्बन्धित स्थानीय तहले घर निर्माण सम्पन्न प्रमाणपत्र दिँदा सो कुराको एकिन गरेर मात्र दिने निर्णय पनि बैठकले गरेको छ ।

एककोठे घर पुनःनिर्माण गर्दा केही ठाउँमा अन्योल उत्पन्न भई दुरुपयोग भएकोसमेत पाइएकाले मापदण्ड स्पष्ट पारिएको प्राधिकरणले जनाएको छ । आफू बस्ने घर पुनःनिर्माण गर्दा सम्बन्धित घरधनी पनि जवाफदेही हुन जरुरी रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । यसअघि एककोठे घर बनाउँदा भान्सा कोठा समावेश गरिएको थिएन । प्राधिकरणले जोखिममा परेका वर्गलाई सहज होस् भनेर एककोठे घर बनाउन सक्ने व्यवस्था गरेको थियो ।