स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव


काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव परेका छन् । अनलाइन र अफलाइनबाट गरेर ५ हजार १५८ वटा प्रस्ताव स्टार्टअप उद्यम कर्जामा सहभागिताका लागि आवेदन परेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ साल भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रुपमा राख्नेछ ।

नवीनतम ज्ञान, सोच सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सरकारले चालु आर्थिक वर्षमा लागि एक अर्ब विनियोजन गरेको छ । यो कार्यक्रमबाट ३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भएको हो ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: ६ पुस २०८१, शनिबार  १४ : १४ बजे