वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो


वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार रुपैयाँ पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएका छन् ।

गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो । जबकि गत आवको सोही अवधिमा भने एक अर्ब २० करोड १४ लाख दुई हजार रुपैयाँ पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले दुई अर्ब ८० करोड ९१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपाङ्गे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्याङ्कले देखाएको छ । चालु आवको पाँच महिनामा यो नाका हुँदै १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९ दशमलव ०७ प्रतिशत र राजस्व सङ्कलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ ।

गत आवको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने दुई सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार  ०८ : ४० बजे