कुलेखानी तेस्रो जलविद्युत् निर्माण, साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने


उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ ।

विद्युत्गृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्युत् उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । भँैसेस्थित कुलेखानी दास्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर सुरुङ मार्गबाट ल्याई सफलतापूर्वक विद्युत्गृहमा राखी परीक्षण उत्पादन गरिएको आयोजनाले जनाएको छ । चौध मेगावट क्षमताको सो आयोजना नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लागतमा निर्माण गरिएको हो ।

चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र विद्युत्गृहको बाँकी काम केही दिनभित्र सक्ने र नियमित विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सुवास मिश्रले जानकारी दिनुभयो । तोकिएको समयभन्दा ढिला हुनाको मुख्य कारण ठेकेदार कम्पनी जिम्मेवार रहेको बताउँदै उहाँले यसलाई पूरा गर्न धेरै मेहनत गर्नुपरेको जानकारी दिनुभयो । विद्युत्गृह नियमित सञ्चालनमा आउने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् ।