इटहरीको अम्बे सहकारी समस्याग्रस्त घोषित, ६१ करोड रुपैयाँ अपचलन गरेको आरोप


काठमाडौँ । कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ। सुनसरीको इटहरीमा रहेको अम्बे कोशीका सञ्चालकहरूले बचतकर्ताहरूको करिब ६१ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ।

बचत अपचलनको आरोपमा सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परिसकेका छन्।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्षसहित सञ्चालकहरूका विरुद्धमा ठगी मुद्दा दायर गरेको छ। सोही मुद्दाका आधार उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सहकारीले विराटनगर, बिराटचोक र झापाको दमक गरी तीन स्थानमा सेवा केन्द्रसमेत सञ्चालन गरेको थियो। केही दिन अघि मात्रै प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो। समितिले काम थाल्नु अघि नै सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो।

प्रदेश सहकारी ऐनको दफा ८४ को उपदफा ९२० मा सरकारले समस्याग्रस्त सहकारीलाई संकटग्रस्त घोषणा गर्ने अधिकार रहेको व्यवस्था छ ।

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार  १२ : ४५ बजे