विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले बढेर साढे २० खर्ब पुग्यो


चालु आर्थिक वर्षको मंसिरसम्ममा विदेशी विनिमय सञ्चिति साढे ११.४ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मङ्सिर मसान्तसम्ममा २२७३ अर्ब २६ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भई २०३३ अर्ब २७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वद्धि भई २४० अर्ब कायम भएको छ । २०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार  १७ : ५३ बजे