नेपाल–भारत संयुक्तव्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागि थिए ।
मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघिबढ्नु पर्ने बताए ।
सो अवसरमा उनले गैर भन्सार अवरोध हटाउने, नेपालीवस्तु निर्यातमा ब्यूरो अफइन्डियन स्ट्यान्डड्र्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजिकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसंग भारतका शहर जोडने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ती आवश्यक भएको बताए ।
यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गरेका थियो । नेपाल भारत वाणिज्य सचिवस्तरिय वैठककै अंगकै रुपमा रहेको जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरुमा छलफल गरेका थियो ।
यस्तै संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवद्र्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरुमा आवश्यक सहजिकरण गर्ने सहमति भएको छ ।
सो अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यसै बीच दोस्रो बैठकमा भएका सहमतिका विषयलाई शनिवार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्द वहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमती हस्तान्तरण गर्नु भएको थियो ।
मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकाय बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतीलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताए । उनले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहजढंगले हुने गरि काम गर्नु पर्ने धारणा समेत राखे ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयहरुको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबिएफमा उठेका एजेण्डा कार्यान्यवका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नु पर्ने बताए । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्धाहरुमा यो वैठक महत्वपूर्ण रहेका बताउँदै उठेका विषयहरुमा सहजीकरणको लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।
सो अवसरमा मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल भारत बीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजी करण हुनु पर्ने बताए । यस्तै भारतीय पक्षबाट एन.सुनिल कुमारले नेपाल भारत बीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकोले आउने दिनमा थप सहजता थपिने बताए । मञ्चको अर्को बैठक भारतको नयाँदिल्लीमा आयोजना गरिने सहमती भएको छ ।
प्रतिक्रिया