जाइकाको ऋण सहयोगमा नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण शुरु हुँदै


काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नौबिसे नागढुङ्गा सुरुङमार्गको निर्माण चाँडै शुरु हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माणका लागि सबै तयारी भइसकेको बताउएका हुन ।

मन्त्रीका अनुसार अनुसार जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सो योजना बनाउने सहमति भएको छ ।

जाइकाबाट अन्तिम निर्णय आउनासाथ काम अघि बढ्ने उनले बताए । उनले भने, “उताबाट हुन्छ भनेको १५ दिनभित्रै शिलान्यास हुनेछ ।”

सो आयोजना सकेसम्म चाँडो सम्पन्न गर्ने गरेर जाइकासँग छलफल भइरहेको मन्त्री महासेठले बताए । ४० महीनामा सम्पन्न गर्ने गरी छलफल भइरहेकामा सरकारले दुई वर्षभित्रै सम्पन्न गर्न जाइकालाई आग्रह गरेको समेत मन्त्री महासेठले जानकारी दिए ।

सरकारले विभिन्न स्थानका सुरुङमार्ग निर्माणका लागि एकमुष्ठ ५९ करोड विनियोजन गरेको उनको भनाइ छ । सरकारका योजनामा परेका ती आयोजनामा आवश्यकताअनुसार बजेट विनियोजन हुनेछ ।

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापनाको गर्ने तयारी समेत गरिरहेको बताए ।

सरकारले आफैँ निर्माण कम्पनी खोले पनि निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति रहेको बताइएको छ ।