ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गत राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो ।
स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करिब १ बजे अचानक खोलामा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिए । राजु आयोजनाको विद्युत गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन् ।
स्थानीयवासीका अनुसार राजुले विष्णुलाई साथीका रुपमा विद्युत गृहमा लगेका थिए । उनीहरु दुवैको शव विद्युत गृहमुनि बगरमा भेटिएको छ ।
बाढीले विद्युत गृह बगाएको बिहान मात्रै थाहा भएको थियो । नजिकैक पेदाङका बासिन्दाले बाढीले विद्युत गृह नै नरहेको देखेपछि घटनाबारे जानकारी भएको थियो । अध्यक्ष गुरुङका अनुसार इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीयवासीको सहायतामा शव निकालिएको र परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ ।
अहिले विद्युत आपूर्ति समेत बन्द भएको छ भने क्षतिको विवरण समेत आउन बाँकी छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया