धितोपत्र बजारको साइबर सुरक्षा बलियो बनाउन सेबोनले ल्यायो नयाँ आईटी नीति


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा सूचना प्रविधिको सुरक्षित प्रयोग र साइबर जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित नयाँ सूचना प्रविधि (आईटी) नीति कार्यान्वयनमा ल्याएको छ। बुधबारदेखि लागू भएको नीतिले धितोपत्र बजारसँग सम्बन्धित संस्था तथा प्रणालीको डिजिटल सुरक्षा, प्रविधिको स्तरीकरण र विपद्पछिको पुनः सञ्चालनलाई प्राथमिकतामा राखेको छ।

गत असोज ५ गते डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएपछि सेयर बजारको कारोबार नै रोक्नुपर्ने अवस्था आएको थियो। उक्त घटनाले पूँजी बजारको डिजिटल पूर्वाधारमा रहेको जोखिम उजागर गरेपछि बोर्डले साइबर सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन नयाँ नीति ल्याएको हो।

नयाँ नीतिअनुसार सेयर कारोबार, राफसाफ तथा फर्स्यौट प्रणाली, केन्द्रीय निक्षेप प्रणाली र वेयरहाउसमा रहेका अभिलेखको सुरक्षा तथा निरन्तरताका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको विपद् पुनःप्राप्ति संयन्त्र विकास गर्नुपर्नेछ। यस्ता प्रणालीमा समस्या आए पनि तथ्याङ्क सुरक्षित राख्दै सेवा पुनः सञ्चालन गर्न सकिने व्यवस्था मिलाउने लक्ष्य नीतिले लिएको छ।

बोर्डका अनुसार सूचना प्रविधिको पूर्वाधार विकास र विस्तार गरी धितोपत्र तथा वस्तु विनिमय बजारको कार्यसम्पादनलाई प्रभावकारी, नतिजामुखी, मापनयोग्य र जवाफदेही बनाउनु नीतिको प्रमुख उद्देश्य हो।

नीतिले सूचना प्रविधिसम्बन्धी सेवा बाह्य कम्पनीबाट लिने प्रक्रियालाई पनि व्यवस्थित गर्न खोजेको छ। बोर्ड, बजार पूर्वाधार संस्था तथा बजार सहभागीहरूले प्रयोग गर्ने डिजिटल प्रणाली सुरक्षित र विश्वसनीय बनाउन आईटी आउटसोर्सिङलाई स्पष्ट कानुनी तथा प्राविधिक मापदण्डभित्र राखिनेछ।

बाह्य सेवा प्रदायकसँग हुने सम्झौतामा सेवा स्तर सम्झौता ९एसएलए०, तथ्याङ्कको सुरक्षा र गोपनीयता, जिम्मेवारी तथा दायित्व, लेखापरीक्षण र निरीक्षणको अधिकार एवं सेवा सम्झौता अन्त्य गर्दा अपनाउनुपर्ने बहिर्गमन रणनीति अनिवार्य गरिने व्यवस्था नीतिमा समेटिएको छ।

त्यस्तै, बोर्डबाट अनुमति प्राप्त बजार सञ्चालक, व्यवसायी, संस्था तथा कोषहरूले प्रयोग गर्ने प्रविधि प्रणालीमा एकरूपता कायम गर्न न्यूनतम आईटी मापदण्ड निर्धारण गरिनेछ। सम्बन्धित सबै संस्थाले उक्त मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

पूँजी बजारका सूचना प्रविधि प्रणालीको सुरक्षा परीक्षणलाई समेत नीतिले विशेष महत्त्व दिएको छ। यसका लागि सम्बन्धित संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आईएसओ तथा आईईसी २७००१ प्रमाणीकरण लिनुपर्ने प्रस्ताव गरिएको छ। साथै, प्रत्येक वर्ष प्रणालीमा हुन सक्ने सुरक्षा कमजोरी पहिचान गर्न भल्नरेबिलिटी असेसमेन्ट तथा पेनिट्रेसन टेस्टिङ गर्नुपर्ने र नियमित सिस्टम अडिट गराउनुपर्ने व्यवस्था अघि सारिएको छ।

साइबर सुरक्षासम्बन्धी घटनाको पहिचान, अनुगमन र व्यवस्थापनलाई प्रभावकारी बनाउन एकीकृत साइबर घटना प्रतिवेदन पोर्टल स्थापना गर्ने योजना पनि नीतिमा छ। बजारसँग सम्बन्धित संस्थामा साइबर आक्रमण वा अन्य सुरक्षा समस्या देखिए त्यसको विवरण उक्त पोर्टलमार्फत अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ।

साइबर घटना भएको अवस्थामा तत्काल सूचना दिने, जोखिम नियन्त्रण गर्ने, प्रभावित प्रणाली पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुधारात्मक कदम चाल्ने व्यवस्था पनि कार्यान्वयन गरिने उल्लेख छ।

यसैगरी, पूँजी बजारका महत्त्वपूर्ण पूर्वाधार तथा व्यवसायीहरूले व्यवसाय निरन्तरता योजना र विपद् पुनरुत्थान योजना तयार गर्नुपर्नेछ। यसबाट कुनै प्राविधिक समस्या वा विपद्का कारण सेवा प्रभावित भए पनि बजार सञ्चालनलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बोर्डले सूचना प्रविधिको प्रयोगबाट आफ्नै संस्थागत कार्यप्रणालीलाई डिजिटल रूपान्तरण गर्ने लक्ष्यसहित ई–सेबोनको अवधारणा अघि बढाएको छ। त्यस्तै, बजारको महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको डेटा सेन्टरलाई थप सुरक्षित र प्रभावकारी बनाउन बजार पूर्वाधार संस्था तथा सहभागी संस्थाको सहकार्यमा साझा डेटा सेन्टर स्थापना गर्ने योजना पनि समेटिएको छ।

नीतिमा बोर्डभित्र उपलब्ध सूचना प्रविधिसम्बन्धी स्रोतसाधनको प्रभावकारी व्यवस्थापन र उपयोगमा जोड दिइएको छ। सूचना प्रविधिमा कार्यरत जनशक्तिको क्षमता विकासका लागि तालिम, अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था गर्ने प्रस्तावसमेत गरिएको छ।

प्रकाशित मिति: १९ कार्तिक २०८३, बिहिबार  ०७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।