निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न पाइने

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७६ मा संशोधन गर्दे यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकका अनुसार बैक तथा वित्तीय संसथाहरुले निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न पाउनेछन् । यस्तो व्याजदर परिवर्तन गर्दा आगामी महिनाको लागि निक्षेपमा लागू हुने ब्याजदर सम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा र निक्षेपको ब्याजदर, आधार दर र ब्याजदर अन्तरको विगत ३ वर्ष अवधिको विवरण वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले सेफ डिपोजिट भल्ट/लकरको सेवा उपलब्ध गराउँदा ग्राहकसंग लिएको सेक्युरीटी डिपोजिट वापतको रकममा साधारण बचत निक्षेपमा प्रदान गरिने ब्याजदर प्रदान गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ भदौ २०७७, मंगलबार  १६ : ५५ बजे