राष्ट्रिय ध्वजावाहकलाई युरोप उडानमा सहजीकरण गर्न आग्रह


उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई यूरोपका विभिन्न गन्तव्यमा हुने उडानमा सहजीकरण गर्न आग्रह गरेका छन ।

आफूसँग शिष्टाचार भेटका लागि उपराष्ट्रपति भवन ग्रीनहाउस पुगेका नेपालका लागि फ्रान्सका राजदूत प्रान्कोइज जेभियर लेगरलाई उनले सो आग्रह गरेका हुन । “हामी नेपाल वायु सेवाको जहाज युरोपमा उडान भर्न चाहन्छौँ”, उपराष्ट्रपतिले भने, “युरोपियन युनियनले नेपाल वायुसेवा निगमको युरोपियन गन्तव्यमा हुने उडानका लागि सहजीकरण गरिदिनुपर्छ ।”

भेटमा राजदूत लेगरले नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र सांस्कृतिक सम्पदा देखेर फ्रान्स अत्यन्त खुशी रहेको बताएका थिए । फ्रान्स र नेपालबीच औपचारिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनिरहेको बताए । राजदूत लेगरले फ्रान्सले नेपालसँग औद्योगिक तथा आर्थिक विकासमा साझेदारी गर्न चाहेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।