काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन् ।
भन्सार विभागले आज यहाँ आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा काम गर्नुपर्ने बताए । “अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौँ । गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन । हामीले यो वर्षका लागि निर्धारण भएको लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने ।
सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, निजी क्षेत्रको मनोबल उकास्न र लगानीयोग्य वातावरण सिर्जना गर्न सरकारले अध्यादेशमार्फत केही कानुनहरु ल्याएकामा निजी क्षेत्रबाट पनि सरकारको यो कदमको स्वागत भएको उनको भनाइ थियो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकारले निरन्तर प्रयास गरिरहेको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।
“अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने, उत्पादन–उत्पादकत्व र आर्थिक वृद्धिका लागि सरकारले चालेको यो कदम अन्तिम होइन । यस्ता कदम थप चाल्दै जानेछौँ”, उनले भने, “यो सरकार बन्दैगर्दा अर्थतन्त्रमा जुन निराशा र शिथिलता थियो, त्यसलाई चिर्न सरकार सफल भएको छ । निराशालाई आशामा बदलेर अर्थतन्त्रमा गतिशीलता दिनुपर्छ भन्ने दिशामा सरकार निर्देशित छ । सबैले यही भावनाका साथ काम गरौँ ।”
भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउनुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए । “लक्ष्यअनुसार राजस्व सङ्कलन गर्नका लागि सुरक्षा संयन्त्र र भन्सार प्रशासनबीच समन्वय आवश्यक छ । सरकारले तपाईंहरुले गरेको कामको परिणामका आधारमा मूल्याङ्कन गर्छ”, अर्थमन्त्री पौडेलले भने ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रशासन सुधारका लागि प्रविधिको प्रयोग बढाउँदै लैजाने र जाँचपास प्रक्रियालाई सहज बनाउन सरकार गम्भीर रहेको बताए । “भन्सार प्रशासनको कार्यक्षमता बढाउने विषयमा हामी गम्भीर छौँ । कर्मचारीको तजबिजी अधिकार घटाउनका लागि कार्यदक्षता बढाउनुपर्ने र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने हुन्छ । यसका लागि जाँचपासमा ‘ब्लकचेन’ प्रविधिलाई प्रयोग गरेर अघि बढ्नुपर्नेबारे मन्त्रालयले सोचिरहेको छ”, उनले भने, “एकीकृत भन्सार प्रणालीलाई अघि बढाउने र सन्दर्भ मूल्य सूचीसम्बन्धी व्यवस्थालाई अब कसरी अघि बढाउने भनेर पनि आन्तरिक गृहकार्य भइरहेको छ ।” भन्सार प्रशासनलाई पूर्ण स्वचालित बनाउनका लागि प्रविधिको प्रयोग बढाउँदै लगिएको उनको भनाइ छ ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन विभागले अधिकतम प्रयास गरिरहेको बताए । “उन्नत प्रविधिको प्रयोगबाट भन्सार प्रशासन चुस्त बनाउने, व्यापार सहजीकरण र लागत घटाउने, अन्तर्राष्ट्रियस्तरको सेवा दिनेलगायत कुरामा हामी सचेत छौँ”, महानिर्देशक पुडासैनीले भने, “यसमा निजी क्षेत्रबाट पनि आवश्यक सहयोग हुने हो भने राज्यले दिएको लक्ष्यअनुसार हामी राजस्व उठाउन सक्छौँ ।”
प्रतिक्रिया