वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड


काठमाडौँ । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा दुई अर्ब रुपैयाँ बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो ।

समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार  ०६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।