राजश्व दाखिला गर्ने समयावधी एक महिना थप गर्न व्यवसायीको आग्रह

0
Shares

नेपाल उद्योग परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटगरी राजश्व दाखिला गर्ने समयावधी एक महिना थप गर्न आग्रह गरेको छ ।

परिसंघले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यस अघिपनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सृजना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधी भन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि  अनुरोध गरेको हो।

यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको छ ।

परिसंघका पधाधिकारीहरुले राष्ट्रपति समक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नु भन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमानै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राष्ट्रपति समक्ष राखेको छ ।

विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।

छलफलमा उद्योग व्यवसायहरु पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पधाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मज्दुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको सक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायहरु प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।

परिसंघले यस्तो विषम परिस्थितिमा उ्रद्योगमा कार्यरत कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनु पर्ने धारणा राख्दै यदि उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा सक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।

कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपतिसमक्ष जानकारी गराएका थिए । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको थियो।

कुनै पनि पर्यटक नेपाल प्रवेष गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने र तीनदिनको क्वारेन्टाइन पछि सम्बन्धित पर्यटकको पिसिआर टेष्ट गरी परिक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनु पर्ने सम्बन्धमा छलफल भएको थियो । यसबाट नराम्ररी प्रभावित पर्यटन क्षेत्रमा केही राहत महशुस भई पर्यटन क्षेत्रका गतिविधिहरु विस्तारै चलायमान हुने परिसंंघको धारणा रहेको छ ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेको निजीक्षेत्र कोभिडको महामारी पछि एकदमै गंम्भिर परिस्थितिबाट गुज्रिरहेको राष्ट्रपति समक्ष जानकारी गराउँदै आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नु पर्ने धारणा परिसंघको रहेको छ ।

यदि कुनै क्षेत्रमा सक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमात्र लकडाउन गर्नु पर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।

संक्रमणलाई रोक्नको लागि सुविधा सम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्नु पर्ने धारणा परिसंघको थियो । यसको लागि निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु तथा होटलहरुलाई आवद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेशनका सेवाहरु निर्वाधरुपमा प्रदान गर्ने वातावरण बनाइदिनको लागि राष्ट्रपति समक्ष अनुरोध गरेकोछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।