निर्वाचनको मिति र मोडालिटी तय गर्न उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक शुक्रबार डाकियो


कोरोना भाइरस संक्रमण जोखिमका लागि गरिएको बन्दा बन्दीका कारण २ पटकसम्म स्थगित भएको उद्योग नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा गर्ने सम्बन्धमा शुक्रबार महासंघ पलाधिकारी बैठक डाकिएको छ ।

बन्दाबन्दीका कारण अन्यौलमा रहेको महासंघको ५४ औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको मोडालिटी र मिति तय गर्न शुक्रबार साँझ पदाधिकारी बैठक बोलाइएको हो ।
पहिलो पटक गत चैत २८ र २९ गतेका लागि आह्वान गरिएको महासंघको साधारण सभा बन्दाबन्दीका कारण असार २६ र २७ गतेका लागि सारिएको थियो । तर सरकारले बन्दाबन्दीलाई निरन्तरता दिए पछि साधारण सभा तथा निर्वाचनको कार्यतालिका स्थगित गरिएको थियो ।

दोस्रो पटक साधारण सभा स्थगित भएसँगै साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्न गठित समितिले बुझाएको सुझाव माथि छलफल हुने महासंघ उपाध्यक्ष किशोर प्रधानले बताए । “अब निर्वाचन पर धकेलेर हुँदैन, सरकारसँग साधारण सभा र निर्वाचन गर्नका लागि अनुमति माग्ने, निर्वाचनका मोडालिटी तय गर्ने विषयमा शुक्रबारको पदाधिकारी बैठकले आवश्यक निर्णय गर्छ । त्यसै अनुरुप अघि बढ्ने सम्बन्धमा निर्णय हुने अपेक्षा गरेका छौं” प्रधानले नोटबजारसँगको कुराकानीमा भने ।

अध्ययन समितिले बुझाएको प्रतिवेदन उपर छलफल गरी पदाधिकारी बैठकले साधारण सभा गर्ने निर्णय गरेर कार्यसमितिलाई सिफारिस गर्ने बताइएको छ ।

महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले महासंघलाई लामो समय अनिर्णयको बन्दी बनाउन नहुने भन्दै साधारण सभाको प्रकृया अघि बढाउनु पर्ने बताए । नोटबजारसँग कुरा गर्दै ढकालले भने, “हामीले बन्दाबन्दीका कारण महासंघलाई लामो समयसम्म नेतृत्वको औपचारिकतामा प्रश्न उठाउने अवस्थामा पुर्यासकेका छौं । अब अब यो अवस्थालाई अझै लम्ब्याउनु हुँदैन” ढकालले भने ।

महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको प्रकृयालाई अगाडी बढाउने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले गत साता मात्र महासंघ अध्यक्ष भवानी राणालाई सुझाव प्रतिवेदन बुझाएको थियो ।

गत साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गर्दै सुझाव माग गरेको थियो ।

समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसंग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेश अनुसार आफ्नो काम पुरा गरी महासंघ अध्यक्ष राणा समक्ष प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दशत्र र समापन कार्यक्रम भर्चुअल माध्यम मार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी सबै क्षेत्र (जिल्लारनगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष निर्वाचन काठमाडौंमा, जिल्लारनगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा डिजिटल भोटिङ मार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाएको थियो ।

एफएनसीसीआईको निर्वाचन मोडालिटी तयार गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।