नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस, ‘डिजिटल इकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुँदै

0
Shares

काठमाडौंमा कार्तिक १ गते ‘डिजिटल इकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुने भएको छ ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालाहरुलाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीका बारेमा बृहत छलफल गरिने आयोजकले जनाएको छ ।

विभिन्न डिजिटल प्लेटफर्ममार्फत् र एपी वान टेलीभिजनमा प्रसारण गरिने कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालाहरु माझ सघन छलफल हुने आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गजुरेलले जानकारी दिए ।

‘सुलभ इन्टरनेट सेवा तथा स्मार्टफोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रको डिजीटाइजेसनमा लैजाने अवसर दिएको छ,’ गजुरेलले भने, ‘कोरोना भाइरस महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको लकडाउनले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ ।’

कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले उनीहरुको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगत व्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् ।

वित्तिय सेवा, भुक्तानी सुविधा, इ–कमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहद् छलफल हुनेछ । नेपाली इ–कमर्श इकोसिस्टमका सबै सरोकारवालाहरुको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस शुरु गर्ने विश्वास आयोजकको छ ।

नेपालमा डिजिटल भुक्तानी, डिजिटल बैंकिङ, इ–लर्निङ र इ–कमर्शले क्रमशः व्यापकता पाएको छ । कोरोना भाइरस महामारी तथा यसलाई नियन्त्रण गर्न लगाईएको बन्दाबन्दी/निषेधाज्ञाले अर्थतन्त्रका प्राय सबै अवयवलाई नराम्ररी प्रभावित पारिरहँदा नेपालमा इ–कमर्श र डिजिटल बंैकिङ भने फराकिलो हुदै गएको छ ।

अनलाइन कारोबार तथा अनलाइन भुक्तानीको बढ्दो प्रयोगले साइबर सेक्युरीटी इ–कमर्शको महत्वपुर्ण हिस्सा रहेको तथ्य उजागर गरेको सन्दर्भमा नेपालमा अनलाइन कारोबार हुने÷हुनसक्ने ठगीलाई नियन्त्रण गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका बारेमा समेत कनक्लेभमा विस्तृत छलफल हुनेछ ।

डिजिटल इकोनोमीबारेको कन्क्लेभ भएकाले यसको आयोजन पनि डिजिटल माध्यमबाटै गरिनेछ । कन्क्लेभमा डिजिटल अर्थतन्त्रका सम्भावना र चुनौतीका अतिरिक्त, इ–कमर्श, भुक्तानी सेवा र यसको इकोसिस्टम, डिजिटल बैंकिङ, कोभिड–१९ ले दर्शाएको डिजिटल अर्थतन्त्रको आवश्यकता र अनलाइन शिक्षा जस्ता विभिन्न ६ ओटा सत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।