नेप्सेले सिभिल बैंकलाई सोध्यो, हिमालयन बैंकसँगको मर्जरको बिषय के हो ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सिभिल बैंकसँग स्पष्टिकरण माग गरेको छ ।

सिभिल बैंकले हिमालयन बैंकलाई प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने खबरहरु सार्वजनिक भएपछि शेयर मूल्यमा प्रभाव पार्ने गतिविधि भएको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को (च) बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ व्यवस्था छ। तर, सो व्यवस्था बमोजिम बैंकको तर्फबाट त्यस्तो कुनै सूचना प्राप्त नभएको तर बजारमा सो समाचारले मूल्य प्रभावित भएपछि नेप्सेले बैंकलाई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

सिभिल बैंकले आफूलाई प्राप्ति गरिदिन अनुरोध गर्दै हिमालयन बैंकलाई पत्र लेखेको खबरहरु बाहिरिएपछि आइतबारको बजारमा सिभिल बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार मूल्य प्रभावित पार्ने खबरहरुको बिषयमा बैंकको भनाई के छ ? नेप्सेले प्रष्ट पार्न भनेको छ ।

सिभिलले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा बजारमा हल्ला भएको तथा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको विषयमा सोमबार बजार खुल्नु अगावै जानकारी गराउन नेप्सेले निर्देशन दिएको छ ।

आइतबारको बजारमा १० प्रतिशतले बढेसँगै सिभिल बैंकको शेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।