कोरोना कहरबीच २३% ले बढ्यो रेमिट्यान्स, साउनमा ९२ अर्ब ७१ करोड भित्रियो

0
Shares

विश्वव्यापी कोरोना कहरको बाबजुत पनि नेपाल भित्रने रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा रेमिट्यान्स आप्रवाहमा २३ प्रतिशतको सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान वित्तीय अवस्था सार्वजनिक गर्दै विप्रेषणमा २३ प्रतिशतको सुधार आएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रीएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशत धेरै हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्समा सुधार आएपनि रोजगारीको लागि विदेश जाने नेपालीहरुको संखया भने घटेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।