काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि तिन दिनसम्म मुलुकमा भारी तथा अतिभारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको र उक्त न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम उत्तरपश्चिमतिर सर्दै गएकाले त्यसको प्रभाव नेपालमा पर्ने देखिएको महाशाखाको भनाइ छ । उक्त न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव बुधबारदेखि नै सुरु हुने महाशाखाले जनाएको छ ।
असोज ९, १० र ११ गते यसको प्रभाव बढी देखिन सक्ने र बागमती प्रदेशभन्दा पश्चिमका भूभागमा वर्षा बढी केन्द्रित हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् तथा प्रवक्ता विभुती पोखरेलले जानकारी दिइन् । उनका अनुसार कर्णालीको पूर्वी भूभाग, सुदूरपश्चिमका दक्षिणी पहाडी तथा तराई क्षेत्र र लुम्बिनीको दाङदेखि पूर्व नवलपुरसम्मका क्षेत्रमा पनि वर्षाको प्रभाव देखिन सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी, मधेस र बागमती प्रदेशका विभिन्न स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । चितवन आसपास तथा यसअघि नै बाढी र पहिरोको असर भोगेका रसुवा, नुवाकोट र धादिङमा भने मध्यम खालको वर्षाले पनि थप समस्या निम्त्याउन सक्ने विभागको आकलन छ ।
चाडपर्वको मुखमा देखिएको यो मौसमी जोखिमले यात्रु, सार्वजनिक यातायात र आम नागरिकलाई थप सतर्क हुनुपर्ने अवस्था आएको मौसमविद्हरू बताउँछन् ।
यता, सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक पूर्वतयारी अघि बढाएको सम्बन्धित सरकारी निकायहरूको भनाई छ ।
मौसमको जानकारी लिन मन्त्रीहरू विभागमा
सम्भावित भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ मौसम पूर्वानुमान महाशाखा पुगेका थिए । मन्त्रीहरूले वर्षाको अवस्था कस्तो रहने, कुन क्षेत्रमा बढी प्रभाव पर्न सक्छ र त्यसबाट कस्ता जोखिम आउन सक्छन् भन्नेबारे महाशाखाका अधिकारीसँग जानकारी लिएका थिए ।
महाशाखाले मन्त्रीहरूलाई विशेषगरी असोज ९ देखि ११ गतेसम्मको मौसमी अवस्थाबारे जानकारी गराएको थियो । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा बढी केन्द्रित हुन सक्ने तथा कोशी, मधेस र बागमतीका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जानकारी दिइएको थियो । मौसमको अवस्थालाई ध्यानमा राखेर सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन र सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ ।
सडकमा मेसिन, अपरेटर र इन्धन तयारी अवस्थामा
अत्याधिक वर्षको कारण हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सडक विभागले पहिरो सम्भावित सडक खण्डमा मेसिन र जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार मनसुन सुरु हुनुअघि नै पहिरो तथा सडक अवरुद्ध हुन सक्ने सम्भावित स्थान पहिचान गरी विभिन्न ठाउँमा उपकरण तैनाथ गरिएको छ । असारदेखि असोजसम्मको चारमहिने अवधिलाई लक्षित गरेर एक्स्काभेटरलगायतका मेसिन, अपरेटर र प्राविधिक जनशक्ति विभिन्न स्थानमा राखिएको उनले बताए ।
“सम्भावित पहिरो आउन सक्ने ठाउँमा मेसिनहरू स्ट्यान्डबाइ राखेका छौँ । फ्युल पनि दुई दिनलाई पुग्ने गरी राखेका छौँ । एक्स्काभेटर अपरेटर र इन्जिनियरहरू पनि त्यहाँ हुनुहुन्छ,” न्यौपानेले भने ।
कृष्णभीर र रोशीखोलामा थप निगरानी
पछिल्लो समय पहिरोका कारण प्रभावित भएका सडक खण्डमा थप वर्षा हुँदा जोखिम बढ्न सक्ने विभागले जनाएको छ । विशेषगरी कृष्णभीरमा पहिरोको जोखिम कायमै रहेको र रोशी खोला आसपासका क्षेत्रमा पनि वर्षाका कारण थप समस्या आउन सक्ने भएकाले ती क्षेत्रमा विभागले निगरानी बढाएको प्रवक्ता न्यौपानले जानकारी दिए । सम्भावित पहिरोका लागि त्यस्ता ठाउँमा मेसिन र जनशक्ति तयारी अवस्थामा राखिएको न्यौपानेले बताए ।
यसका साथै बीपी राजमार्ग, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकलाई पनि विभागले विशेष निगरानीमा राखेको छ । यी सडकमा सवारी चाप बढी हुने र काठमाडौंसँगको आवागमनका लागि महत्वपूर्ण भएकाले पहिरो वा बाढीका कारण सडक अवरुद्ध भए तत्काल काम अघि बढाउने तयारी गरिएको विभागको भनाइ छ ।
“सामान्य अवस्थामा पहिरो गएको जानकारी पाएपछि आधा घण्टाभित्र मेसिन घटनास्थलमा पु¥याउने र मेसिन पुगेको करिब दुई घण्टाभित्र सडक सफा गर्ने विभागको तयारी छ,” प्रवक्ता न्यौपानले भने, “तर पहिरोको आकार र सडकमा भएको क्षतिअनुसार समय फरक पर्न सक्छ ।”
यात्रा गर्नुअघि सडक विभागको वेबसाइटमा रहेको ‘न्याभिगेट’ प्रणालीबाट कुन–कुन सडक अवरुद्ध छन् भन्ने जानकारी लिन सकिने प्रवक्ता न्यौपानेले बताए ।
भारी वर्षाको पूर्वानुमान भएका बेला अत्यावश्यक नभएसम्म जोखिमयुक्त सडकमा यात्रा नगर्न सार्वजनिक सूचना जारी गर्ने तयारीसमेत भइरहेको उनले बताए । चाडपर्वका लागि घर फर्किने यात्रुको संख्या बढ्दै जाँदा सडकमा सवारीको चाप पनि बढ्ने भएकाले मौसम र सडकको अवस्था नबुझी यात्रा गर्दा जोखिम थपिन सक्ने देखिन्छ ।
हिमाली क्षेत्रमा हिमपातको जोखिम
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हिमाली क्षेत्रमा हिमपातको सम्भावनालाई ध्यानमा राखेर पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायत सम्बन्धित निकायलाई सूचना दिइसकिएको छ ।
हिमाली क्षेत्रमा अहिले पनि पर्यटक तथा पर्वतारोहणका लागि मानिसहरू जाने भएकाले मौसम प्रतिकूल भएको अवस्थामा उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरिएको उनले बताइन् । हिमाली क्षेत्रका लागि थप विशेष सूचना तथा ‘रेड अलर्ट’ जारी गर्ने तयारीसमेत भइरहेको महतले बताइन् ।
सम्भावित बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का लागि प्राधिकरणले यसअघि नै तयार गरेको प्रतिकार्य संयन्त्रलाई आवश्यकताअनुसार सक्रिय बनाउने जनाएको छ । प्रवक्ता महतका अनुसार प्रदेश तहका गोदामदेखि केन्द्रका भण्डारणस्थलसम्म मनसुनजन्य विपद्का लागि आवश्यक राहत सामग्री अद्यावधिक गरेर राखिएको छ । आवश्यक परे ती सामग्री सम्बन्धित क्षेत्रमा परिचालन गर्न सकिनेछ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग पनि आफ्नै गोदाम तथा राहत सामग्री रहेकाले विपद्को अवस्थामा स्थानीय तहबाटै प्रारम्भिक प्रतिकार्य गर्न सकिने प्राधिकरणले जनाएको छ ।
“मनसुनका लागि हामीले पहिलेदेखि नै जुन तयारी गथ्र्यौँ, त्यो सिस्टम अहिले पनि छँदैछ । आवश्यक परे त्यही मेकानिजम सक्रिय हुने हो,” महतले भनिन् । प्राधिकरणले उद्धारको अवस्था आउनुअघि नै सूचना दिएर जोखिम घटाउने प्रयास गरिरहेको जनाएको छ ।
दसैंको मुख्य यात्रा सुरु हुनुअघि नै आफ्नो घर फर्किने वा अन्य गन्तव्यमा जानेहरूले पनि मौसमको अवस्थालाई ध्यान दिनुपर्ने महतले बताइन् । “चाडपर्व आउन अझै समय छ, दुईचार दिन सबैले सावधानी अप्नाउनुपर्छ त्यसपछि सबै सामान्य हुन्छ,” महतले भनिन् ।
विशेषगरी भारी वर्षाको सम्भावना रहेका प्रदेश तथा जिल्लामा अत्यावश्यक नभएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्राधिकरणले सुझाव दिएको छ ।
मनसुन सकिन लागे पनि जोखिम कायमै
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ अर्थात् असोज १६ गते हो । तर पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यस वर्ष पनि मनसुन केही दिन पछाडि धकेलिन सक्ने महाशाखाले जनाएको छ ।
यसको अर्थ चाडपर्व नजिकिँदै गर्दा मनसुन सकिने समय आएको भए पनि वर्षाको जोखिम तत्कालै अन्त्य नहुने देखिन्छ । बंगालको खाडी आसपास बन्ने मौसमी प्रणालीअनुसार नेपालमा वर्षाको गतिविधि फेरि बढ्न सक्ने भएकाले मौसमको सूचना नियमित रूपमा हेर्न विभागले आग्रह गरेको छ ।
सरकारी निकायहरूले जोखिमयुक्त सडकमा मेसिन र जनशक्ति तयारी अवस्थामा राख्नुका साथै राहत सामग्री तथा उद्धार संयन्त्रलाई सक्रिय अवस्थामा राखेको जनाएका छन् ।









