शोधनान्तर स्थिति ५१ अर्ब बचतमा, सरकारी खातामा १९६ अर्ब नगद मौज्दात

0
Shares

नेपाल राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा देशको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँ बचतमा रहेको छ ।

अघिल्लो वर्षको साउन महिनामा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले मात्र बचतमा थियो ।आयात व्यापारमा आएको गिरावट तथा देशमा भित्रने रेमिटान्स वृद्धिदर उच्च रहेका कारण देशको शोधनान्तर स्थिति बचत बढेको हो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ । 

यसैगरी समीक्षा अवधिमा चालु खाता २५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
तर सो अबधिमा प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको छ ।

कोरोनाको कारण सो अबधिमा प्रत्यक्ष वैदेशिक लगानी ३।. प्रतिशतले घटी १ अर्ब ३९ करोड रुपैयाँमा मात्र भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रुपैयाँ भित्रिएको थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई १ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड रहेको थियो ।

सो अबधिमा विदेशी विनिमय संचिती भने बढेको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २।५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब ६० अर्ब ३८ रुपैयाँ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थामा १ खर्ब ७६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । २०७७ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ ।

२०७७ साउन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १९६ अर्ब ५६ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।