सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता

0
Shares

सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले आइतबार सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ।

बैंकको मुख्य कार्यालयमा असार २२ गते सिटिजन्स बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकास बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र रहेको सिटिजन्सले ख वर्गको इजाजत प्राप्त तीन जिल्ले सहयोगी विकास बैंकलाई एक कित्ता बराबर ०.९० कित्ता अनुपातमा प्राप्ती गर्ने प्रारम्भिक समझदारी भएको हो। सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) प्रतिवेदन अनुसार शेयर स्वाप रेसियो निर्धारण हुने सहमति छ ।

हाल सिटिजन्स बैंकको ८ अर्ब ३७ करोड र सहयोगी विकास बैंकको ५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी छ । एकीकृत बैंकको चुक्ता पूँजी ८ अर्ब ८७ करोड पुग्ने जनाइएको छ । यसैगरि असार २१ गते शनिबार सम्मको तथ्यांकको आधारमा सहयोगीलाई प्राप्तिपछि सिटिजन्स बैंकको निक्षेप ७५ अर्ब ६८ करोड र कर्जा लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने जानकारी दिइएको छ ।

सहयोगीको धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा १४ शाखा सञ्चालनमा रहेकोमा ९ शाखाहरू सिटिजन्सको थपिँदा सो जिल्लामा बैंकको शाखा २३ पुग्ने भएको छ ।

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात गरि बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको सिटिजन्स बैंकलेसहयोगी प्राप्ती पश्चात कूल ९५ वटा शाखा, ८० वटा एटीएम र १०० वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्ने बताइएको छ।

प्रकाशित मिति: २२ असार २०७६, आइतबार  २२ : ३३ बजे