काठमाडौँ । आममानिसले सेक्युरिटी गार्ड भन्नेबित्तिकै नाक खुम्च्याउँछन् । हुन पनि कुनै कार्यालय वा पसलको ढोकामा युनिफर्म लगाएर उभिइरहेका व्यक्ति प्रायः सबैको उपेक्षामै परिरहेका छन् ।
तर, पेसाप्रतिको बफादारी र कामप्रतिको लगाव भएपछि कुनै पनि काम सानो हुँदैन भनेर प्रमाणित गरिदिएका छन्– भाटभटेनी सुपरस्टोरको कोटेश्वर शाखाका सुरक्षा गार्ड दुलप्रसाद (कृष्ण) पराजुलीले ।
गत शुक्रबार राजावादी समूहले कोटेश्वर तिनकुने क्षेत्रमा गरेको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएपछि अराजक बनेको झुन्डले व्यक्तिगत तथा सरकारी भवन र कार्यालयमा तोडफोड र आगजनी गरे ।
तोडफोड र आगजनी गर्दै हिँडेको आन्दोलनकारीको समूह जसै भाटभटेनीमा पुगेर ढुंगामुढा गर्न थाल्यो, आन्दोलनकारीकै हुलमा मिसिएर प्रदर्शनको रमिता हेर्न आएकाहरू पनि लुटपाटमा संलग्न भए ।
त्यहाँ सुरक्षामा खटिएका पराजुलीले लुटपाटमा संलग्नहरूलाई आफूसँग भएको सामान्य लाठी प्रहार गर्दै लुट्नबाट बचाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।
फेसबुक तथा टिकटकमा भाइरल भएको भिडियोमा अनुहार देखिएका स्थानीय केही व्यक्ति प्रहरीको नियन्त्रणमा परे ।
त्यसरी लुटपाटमा संलग्नहरूलाई बहादुरीपूर्वक लखेटेका सुरक्षा गार्ड पराजुलीलाई भाटभटेनीले सम्मानसहित नगद पुरस्कार र बढुवा गर्दै कामप्रतिको निष्ठाको कदर गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा भटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दुलप्रसाद पराजुलीलाई ५ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे । यतिमात्रै होइन, उनको एकै पटक ५ ग्रेड बढुवा पनि गरियो ।
उक्त दिन भएको तोडफोडबाट ७५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको गुरुङले बताए ।
पराजुली मात्रै होइन, त्यस दिन आफ्नो ज्यान जोखिममा राखेर जिम्मेवारी निर्वाह गर्ने अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरियो ।
इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारूलगायत कर्मचारीलाई पनि ५ हजार रुपैयाँ नगदसहित सम्मान गरियो ।
‘लुटपाट र तोडफोड गरेर राजसंस्था फर्किंदैन’
यसैबीच, भाटभटेनीका सञ्चालक गुरुङले तोडफोड, आगजनी र लुटपाट गरेर राजसंस्था फर्काउने सपना नदेख्न राजावादीहरूलाई चेतावनी दिएका छन् । स्वार्थ समूहले आपराधिक मानसिकताका साथ भाटभटेनीमा धावा बोलेर लुट्ने काम निकै खेदपूर्ण रहेको उनले बताए ।
‘विगतमा पनि आन्दोलनका कार्यक्रम भएका थिए । तर अहिले जस्तो निजी र सार्वजनिक सम्पत्तिमा धावा बोल्ने गतिविधि भएका थिएनन्,’ उनले भने, ‘अरूको सम्पत्ति तोडफोड गर्ने र समाज सुसूचित गराउने फोटो पत्रकार जलाएर मार्ने बर्बर आन्दोलन कहिल्यै देखिएको थिएन ।’
उनले दुर्गा प्रसाईंलाई राज्यले पुलपुल्याएका कारण गुन्डा नाइके बनेको र उनकै कारण बितन्डा मच्चिएको बताए ।
‘हामीले सरकारलाई बर्सेनि ट्याक्स तिर्छौं । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । हामीलाई, हाम्रा दसौँ हजार भाइबहिनीको सुरक्षा खोइ ?,’ उनले भने, ‘सम्मानित हाम्रा सुरक्षागार्ड दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’
गुरुङद्वारा मृतकका परिवारलाई सहयोग घोषणा
यसैबीच, सञ्चालक गुरुङले शुक्रबार तिनकुने घटनामा ज्यान गुमाएका २ जनाको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।
घटनामा ज्यान गुमाउने एभिन्युजका पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख रुपैयाँ र कीर्तिपुरका सविन महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
सो घटनामा आफू भिडियो खिचिरहेकै घरमा आन्दोलनकारीले आगो लगाइदिँदा पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
यस्तै, प्रहरीले चलाएको गोली लागेर घाइते भएका कीर्तिपुरका युवा सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको थियो ।
यद्यपि, सो प्रदर्शनमा राज्य तर्फबाट हिंसा भड्काउने उद्देश्यले नै दमन गरेको आरोप लाग्दै आएको छ । विभिन्न सरोकारवालाले घटनाको निष्पक्ष न्यायिन छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया