अनुगमनमा व्यापारीबाट १२ लाख जरिवाना असुली

0
Shares

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवाना स्वरुप १२ लाख ८७ हजार असुल उपर गरेको छ ।

कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ ।

उनीहरुले ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए ।

उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ ।

अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट करीब १० लाख मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ ।

यसरी नष्ट गरिएका सामानमा दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् । खुद्रा व्यापार गर्ने ७६ वटा पसललाई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ । बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ ।

उपभोक्ता अधिकारका लागि नेपालको संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफूल र माछामासुको अनुगमन गर्नुपर्नेछ ।

कामपाको उपप्रमुख एवं अनुगमन समितिका संयोजक हरिप्रभा खड्गीले कोरोना कहरका समयमा जनताहरु एकातिर आय श्रोत बिग्रिएर चिन्तित छन् । अर्कातिर चर्को मूल्य वृद्धिले समस्यामा परेकाले नियमित अनुगमन गरेको बताउँछन् । कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले, अनुगमनका क्रममा काठमाडौँका ठूला तरकारी बजार कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफूल पसल अनुगमन गरिएको जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असाेज २०७७, बिहीबार  ०९ : ५५ बजे