सहकारीको सेयर हिस्सा बिक्री गर्दै स्वावलम्बन


स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा संस्थापक सेयरभनीको रुपमा रहेको सहकारीको सेयर बिक्री गर्ने भएको छ । संस्थामा महिला सहकारी संस्थाको नाममा रहेको ३ लाख ७७ हजार ४५७ दशमलब ५ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको व्यस्था अनुसार लघुवित्त वित्तीय संस्थाको संस्थापक वा संस्थापक समूहको शेयरमा प्रचलित कानुन बमोजिम संस्थापित सहकारी संस्थाहरुले संस्थागत रुपमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार स्वाबलम्बनले महिला सहकारीको नाममा रहेको ६.०१ प्रतिशत सेयर हिस्सा बिक्री गर्न लागेको हो । सो संस्थापक समुहको शेयर असार ३१ गतेदेखि लिलामीमा बिक्री गर्न लागेको हो ।

सो शेयरमा संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले न्यूनतम प्रतिशेयर ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित असार ३१ देखि बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदन गर्दा न्यूनतम एक सय कित्तादेखि लिलामीमा आएको अधिकतम कित्तासम्म आवेदन गर्न सकिने जनाइएको छ । मंगलबार लघुवित्तको साधारण शेयर प्रतिकित्ता ८८४ रुपैयाँ हाराहरीमा कारोबार भईरहेको छ ।

बोलपत्र आवेदन फाराम एक सय रुपैयाँ तिरेर बिक्री प्रबन्धक सनराईज क्यापिटल, कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । शिलबन्दी बोलपत्र साउन २९ गते अपरान्ह ३ बजेसम्म बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालयमा कमलपोखरीमा पेश गर्न सकिने जनाइएको छ ।