एसईईको नतिजा प्रकाशनमा ढिलाइ हुने


काठमाडौँ । शिक्षकहरुको आन्दोलनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलो हुने भएको छ । शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो ।

असार ७ मा निकाल्ने भनिएको नतिजा आन्दोलनका कारण ढिलो हुने भएको हो । यता, शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।

‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो। यो आन्दोलनलाइ अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ। अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२०८१ साल चैत्र ०७ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा मा देशभरबाट नियमित तर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार ल‍ाख ९९ हजार १८३ विद्यार्थीहरू सहभागी भएका छन्।

प्रकाशित मिति: २४ चैत्र २०८१, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।